
दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगंज, ०९ बैशाख । वीरगंज महानगर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सि.सि.टिभी क्यामेरा संजाल विस्तार गरिने भएको छ । सि.सि.टिभी क्यामेरा संजाल विस्तारका लागि महानगरपालिकाको पहलमा विभिन्न बैंकहरुले सोमबार १७ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित वीरगंज बनाउने अभियानमा सहकार्य गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई गर्नु भएको आह्वान अनुरुप बैंकहरुले उक्त सहयोग उपलब्ध गराएका हुन् ।
बैंकर्स एसोसिएसन, पर्साका संयोजक रोहिणी आचार्यको नेतृत्वमा यहाँ संचालित बैंकहरुलाई वीरगंज सुरक्षित बनाउने अभियानमा सिसि क्यामेरा विस्तारका लागि सहयोग उपलब्ध गराउन आग्रह गरिएको थियो ।
महानगरपालिकाको पहल एवं सेफर वीरगंज र जिल्ला प्रहरी कार्यालय, पर्साको सहकार्यमा संकलित रकमबाट वीरगंजका विभिन्न स्थानमा थप नयाँ क्यामेरा जडान गरिने महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध नियन्त्रणमा सिसि क्यामेराको उल्लेखनीय सहयोग रहने भएकाले महानगरका हरेक चोक तथा सडकमा संजाल विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो । क्यामेरा संजाल विस्तारका लागि सहयोग उपलब्ध गराउने बैंकहरु धन्यवादको पात्र रहेको भन्दै यो कार्य सबै सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।
सिसि क्यामेरा संजाल विस्तारका लागि विभिन्न १६ वटा बैंकले सहयोग उपलब्ध गराएको र बाँकी बैंकहरुबाट पनि चाँडै सहयोग उपलब्ध हुने बैंकर्स एसोसिएसन, पर्साका संयोजक रोहिणी आचार्यले जानकारी दिनुभयो ।
सबै भन्दा बढी नबिल बैंकले ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सोमबार एक कार्यक्रमकाबीच बैंकहरुले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा सेफर वीरगंजलाई हस्तान्तरण गरिएको छ ।