दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ११ जेठ । वीरगञ्जमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरु मेयर र उमेयरमा विजयी भएपछि नगरवासीलाई धन्यवाद दिँदै खुसियाली मनाउन बुधबार विजय जुलुस निकालिएको थियो ।

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंह र नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् । सिंह र आलम विजयी भएको खुस्लियाली मनाउन र वीरगञ्जवासीलाई धन्यवाद दिन पाँच दलीय गठबन्धनका नेताहरुको सहभागितामा आज दिउँसो आदर्शनगर रंगशालाबाट संयुक्त विजय र धन्यवाद जुलुश निकालिएको हो ।

संयुक्त विजय जुलुशमा नवनिर्वाचित मेयर सिंह, उपमेयर आलम, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, सङ्घीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, काँग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीका साथै जसपा, काँग्रेस, माओवादी र नेकपा एसका नेता कार्यकर्ता र हजारौं समर्थकहरु सहभागीको सहभागिता रहेको थियो ।

बीरगंजको आदर्शनगरबाट शुरु भएको गठबन्धनको विजय जुलुश घडिअर्वा , घण्टाघर, मुर्ली चोक, पावरहाउस चोक, गण्डक चोक हुँदै परवानिपुर पुगेको छ । त्यसपछि जुलुस परवानीपुरबाट जितपुर हुँदै वीरगञ्ज महानगरको टेढा, सोलखपुर, मिलनचोक, कट्गेनवा, बेलवाचोकबाट लालपर्सा, जगरनाथपुर, भवानीपुर, मनियारी आएर त्यहाबाट प्रसौनिबिर्ता, सबैठ्वा, रामगढवा, सिर्सिया, खल्वाटोला तथा इनरवा हुँदै विजय जुलुश नगवा, भेडियाही हुँदै लक्ष्मणवा चौकमा पुगेर समापन भएको थियो ।

त्यस्तै वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएका राजेशमान सिंहलाई मंगलबार संघीय सांसद् प्रदीप यादवले चाँदीको मुकुट लगाएर सम्मान गरेका थिए । मंगलबार बिहान सम्पन्न वीरगञ्ज महानगरपालिकाको मतगणनाको अन्तिम मतपरिणाम अनुसार ४६ हजार २ सय १५ मत पाएर मेयर पदमा निर्वाचित भएका जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहलाई सांसद् यादवले चाँदीको मुकुट लगाएर सम्मान गरेका हुन् । आफ्नो निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एवम् वीरगञ्जका निवर्तमान मेयर विजयकुमार सरावगीलाई २२ हजार ४ सय ४४ मतको विकराल मतान्तरले पराजित गर्दै सिंह मेयरमा निर्वाचित भएका हुन् । सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गर्दा निवर्तमान मेयर सरावगी २३ हजार ६ सय ७१ मतमा सिमित भएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरिश गिरीले ३ हजार ३ सय १३ मत ल्याएका छन् । गिरीले आफ्नो जमानत पनि जोगाउन सकेनन् ।