
बीरगंज, ५ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले घरदैलो कार्यक्रम गरेको छ । वडाको रानीघाट टोलमा जसपाबाट वीरगञ्ज महानगरपालिकाका मेयरको उम्मेदवार राजेश मान सिंहको नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको हो ।
घरदैलोका क्रममा वडावासीले आसन्न स्थानीय तहमा पनि जसपाका उम्मेदवारहरुलाई जिताउने प्रतिबद्धता जनाएका छन् । सिंहसँग भएको भेटघाटका क्रममा वडावासीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
यसअघि जसपाका उम्मेदवारलाई जिताएको बताउँदै स्थानीयले यसपटक पनि जसपालाई नै निर्वाचित गराएर पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय राजु साह सोनार भन्छन्, ‘यसअघि हामीले जसपालाई नै जितायौँ, अहिले पनि जसपालाई नै जिताउँछौ, व्यक्ति फरक भएपनि विचार त्यही पाएका छौँ । जनतासँग काम गर्ने उम्मेदवार हुनुहुन्छ राजेश मान सिंह र मनोज कलवार । हामीले उहाँहरुलाई नै जिताएर पठाउँछौँ । वर्तमान मेयर विजय सरावगीले बर्बाद बनाएको वीरगञ्जलाई राजेश मानले नै बनाउनेछन् भन्ने आशा छ ।’
वडाबासीहरुले वडा अध्यक्ष मनोज कलवारको कामसँग सन्तुष्ट रहेको बताउँदै महानगर प्रमुख सरावगीसँग भने असन्तुष्ट रहेको बताएका थिए । सिंहसँग स्थानीयले वडामा हुन् नसकेको काम र विकासका बारेमा समेत कुरा राखेका थिए । वडावासीहरुको प्रश्नको प्रतिक्रिया दिँदै सिंहले आफु मेयरमा निर्वाचित भए वडाका सम्पूर्ण समस्याहरुलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफू व्यापारिक पृष्ठभूमिबाट नभएर राजनीतिक पृष्ठभूमिबाट आएकोले जनताको बीचमा रहेर काम गर्ने बताए ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादव, वडाअध्यक्ष मनोज कलवार, जसपाका नेता मुकेश द्विवेदीलगायतका जसपाका नेता तथा कार्यकर्ताहरु घरदैलोमा उपस्थित थिए । उनीहरुको स्वागत गर्दै स्थानीयहरुले ‘राजेशमान सिंह जिन्दावाद’, ‘छाता छापमा मतदान गरौँ’, ‘जसपाका उम्मेदवारलाई विजयी गराऔँ’ जस्ता नारासमेत लगाएका थिए ।