काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँग सबै व्यापारिक सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका छन् ।
स्पेनले इरानमा भइरहेको अमेरिकी सैन्य कारबाहीका लागि आफ्नो सैनिक आधारस्थल प्रयोग गर्न अनुमति नदिएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

राष्ट्रपति भवनमा भएको छलफलका क्रममा ट्रम्पले स्पेनको व्यवहारको कडा आलोचना गर्दै त्यसलाई धेरै खराब बताएका थिए । उनले भने- ‘हामी स्पेनसँग सबै व्यापार बन्द गर्न सक्छौं। हामी स्पेनसँग कुनै सम्बन्ध राख्न चाहँदैनौं ।’
यो निर्णय कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन । यदि यस्तो कदम चालियो भने युरोपेली सङ्घका सदस्य राष्ट्र स्पेनसँगको व्यापार रोक्न कस्ता प्रक्रिया अपनाइने भन्ने विषय खुल्न बाँकी छ ।
ट्रम्पको यस अभिव्यक्तिले दुई देशबीचको तनाव अझ बढ्न सक्ने देखिएको छ । स्पेनले यसअघि पनि उत्तर एटलान्टिक सन्धि सङ्गठन अन्तर्गत रक्षा खर्च बढाउनुपर्ने ट्रम्पको मागको विरोध गर्दै आएको छ ।








