स्वर्णलक्ष्मी ठगीमा कांग्रेस सांसद राईको संलग्नता पुष्टि :

दुई अर्ब ६५ करोड ठगी भएको स्वर्णलक्ष्मीको मुद्दाबाट यसअघि सरकारले तीनपुस्ते नखुलेको भन्दै नियोजित रूपमा जोगाएको थियो सांसद राईलाई, तर सहकारीका महत्वपूर्ण निर्णय र संसद्मा उनले गरेको हस्ताक्षर ‘म्याच’

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा कांग्रेस सांसद माया राईको संलग्नता पुष्टि हुने बलियो आधार भेटिएको छ । सहकारीका महत्वपूर्ण निर्णयहरूमा उनको हस्ताक्षर फेला परेपछि ठगी प्रकरणमा उनको प्रत्यक्ष भूमिका देखिएको हो । उनी दुई कार्यकाल स्वर्णलक्ष्मीको सञ्चालक समितिमा थिइन् । 

सहकारीका बैठकहरूमा गरिएको ‘माइन्युट’मा राईको हस्ताक्षर भेटिएपछि काठमाडौं प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ । दुई अर्ब ६५ करोड ठगी भएको स्वर्णलक्ष्मीको मुद्दाबाट यसअघि सरकारले तीनपुस्ते नखुलेको भन्दै नियोजित रूपमा उनलाई जोगाएको थियो । गत पुस २१ गते सहकारीको ठगी प्रकरणमा ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो ।

नयाँ पत्रिकाले यसबारे समाचार प्रकाशन गरेपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार सहकारीका ‘माइन्युट’ र संसद्मा राइले गरेको हस्ताक्षर एक–अर्कासँग मेल खाएका छन् । ‘संसद्बाट ल्याइएको हस्ताक्षर सहकारीका कागजातसँग म्याच भएपछि विस्तृत अनुसन्धान अघि बढाएका छौँ,’ ती अधिकारीले भने । 

नवराज अधिकारी प्रवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौं 
यसअघि तीनपुस्ते नखुलेकालगायत थप व्यक्तिमाथि दोस्रो चरणको अनुसन्धान भइरहेको छ ।

काठमाडौं परिसरका प्रवक्ता नवराज अधिकारीले विगतमा तीनपुस्ते नखुलेकालगायत थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान भइरहेको बताए । राई दुईपटक सहकारीको सञ्चालक भएकी थिइन् । सहकारीको सञ्चालक भएको आधारमा उनीविरुद्ध समेत पक्राउ पुर्जी लिएको थियो । तर, सरकारी वकिलमा अनुसन्धान प्रतिवेदन पुग्दा रहस्यमय रूपमा उनको नाम गायब भयो । सत्तारूढ दल कांग्रेसकी सांसद भएकाले उनलाई योजनाबद्ध रूपमा जोगाएको आरोप लाग्दै आएको छ । प्रहरीले भने सहकारीको सञ्चालक माया राई र सांसद माया राई एकै व्यक्ति भएको आफूहरूले समाचारमा आएपछि मात्र जानकारी पाएको दाबी गरेको छ । 

गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेको सो सहकारीमा सर्वसाधारणको दुई अर्ब ६५ करोड हिनामिना भएको प्रहरी अनुसन्धानमा खुलेको छ । सर्वसाधारणको जाहेरीका आधारमा एक अर्ब १९ करोड रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर भएको छ । 

भोजपुर घर भएकी राईको जिबी राईसँग निकटता थियो । सोही आधारमा उनी सहकारीको सञ्चालक बनेकी थिइन् । सहकारीमा आबद्ध भए पनि हिनामिनामा संलग्न नभएको उनले नयाँ पत्रिकासँग बताएकी थिइन् । तर, निर्णयहरूमै हस्ताक्षर भेटिएपछि उनी मुख्य प्रतिवादी हुने अवस्था देखिएको छ । राई सो सहकारीको दुईपटक सञ्चालक भएकी थिइन् । 

आर्थिक वर्ष ०७३/७४ मा उनी सदस्य थिइन् । त्यसवेला स्वर्णलक्ष्मीको सञ्चालकहरूमा कल्पनाकुमारी श्रेष्ठ अध्यक्ष, देवेन्द्रबाबु राई उपाध्यक्ष, गितेन्द्रबाबु राई सचिव, सविना आलेमगर कोषाध्यक्ष तथा यामकुमार नाल्बो, राजु बराल र राई सदस्य थिए । 

पछि ०७४/७५ देखि ०७५/७६ मा उनी सहसचिव हुँदा कल्पनाकुमारी श्रेष्ठ अध्यक्ष, देवेन्द्रबाबु राई उपाध्यक्ष, दीपक लामा सचिव, रविना आलेमगर कोषाध्यक्ष तथा भक्तबहादुर भोलन र प्रदीप लामा सदस्य थिए । त्यतिवेलादेखि नै गैरकानुनी रूपमा कर्जा प्रवाह हुँदा सहकारी धराशायी भएको अनुसन्धानमा देखिए पनि अन्य सञ्चालकलाई मुद्दा चलाउँदा उनलाई अनुसन्धानबाहिर राखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उनको संलग्नता देखिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । 

त्यसैगरी, पक्राउ पुर्जी जारी भएर पनि तीनपुस्ते विवरण नखुलेको भन्दै मुद्दा दायर नगरिएका यामकुमार नाल्बो, सुरज श्रेष्ठ, पुनमकुमारी चालिसे, मीरा बमजन, सञ्जीव गिरीको हकमा पनि दोस्रो चरणमा अनुसन्धान थालिएको छ । 

सहकारीबाट गोर्खा मिडियामा गैरकानुनी रूपमा पैसा गएको र त्यो पैसा खर्च गर्ने भूमिकामा रहेको भन्दै गोर्खा मिडियाका तत्कालीन सञ्चालक रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध समेत मुद्दा दायर गरेको थियो । तर, सहकारीकै सञ्चालकदेखि सहकारीबाट प्रत्यक्ष रूपमा २० करोड लिने उमेश गुरुङलगायतमाथि भने मुद्दा दायर नगरेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको थियो । 

जिबीका पार्टनर रहेका फिक्कल गाउँपालिका उपाध्यक्ष बराल अझै पक्राउ परेनन् 
स्वर्णलक्ष्मी सहकारीको ठगीमा प्रतिवादी रहेका सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल अझै पक्राउ परेका छैनन् । २१ पुसमा उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

बराल स्वर्णलक्ष्मीका पूर्वसञ्चालक हुन् । उनी एमालेबाट निर्वाचित हुन् । काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको सञ्चालक कमल लामा र सुनिता नेवालाई पक्राउ गरी अनुसन्धान गर्दा बराल गाउँपालिकामै कार्यरत थिए । पछि भूमिगत भएका थिए ।

जिबी राईका पार्टनर बराललाई बुटवलको सुप्रिम सहकारीको ठगीमा पनि प्रतिवादी बनाइएको छ । उनीविरुद्ध भने सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भएको छैन ।

एमाले नेता केबी उप्रेतीविरुद्ध प्रहरीमा थप जाहेरी, तर भएन सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान 
आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको दुई अर्ब हिनामिनाका आरोपित एमाले नेता केबी उप्रेतीविरुद्ध ठगीका थप जाहेरी परेका छन् । तर, प्रहरीले भने उनीमाथि सामान्य सहकारी ठगीको कसुरमा मात्र अनुसन्धान गरेको छ ।

हाल डिल्लीबजार कारागारमा रहेका उप्रेती नेतृत्वको समूहले उक्त सहकारी संस्थाको दुई अर्ब हिनामिना गरेको थियो । जसमा थप जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले थप तीनवटा पूरक अभियोग दर्ता गरेको छ । पाँच करोड ७७ लाख, १८ करोड ४५ लाख र अर्काेमा ४१  लाख ४६ हजार बिगो कायम गरी तीनवटा छुट्टाछुट्टै पूरक अभियोग दर्ता गरिएको छ । उप्रेतीको समूहले विभिन्न सहकारी मर्ज गरी सहकारीको पैसा विभिन्न कम्पनी र जग्गामा लगानी गरेको थियो । 

तर, सहकारीको दुई अर्बभन्दा धेरै कुन–कुन कम्पनीमा लगानी गरियो भनेर प्रहरीले खोजी गरेको छैन । पक्राउ पर्दा उनी राष्ट्रिय सहकारी बैंकको समेत अध्यक्ष थिए । एमालेकै आडमा उनले सो पद पाएका थिए । पक्राउ परेपछि एमालेले उनलाई सहकारी विभागको सचिवबाट निलम्बन गरेको थियो । रवि लामिछाने जोडिएबाहेकका सहकारीको अपचलनमा प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरतर्फ अनुसन्धान नगरेपछि अनुसन्धानमा प्रतिशोधको आरोप लाग्दै आएको छ । 

source naya patrika

  • Bishnu Timalsina

    Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-