विष्णुप्रसाद तिमल्सिना
काठमाडौँ, जेठ २१ । काठमाडौँ महानगरपालिका वडा नंं ७ का वडाअध्यक्ष विमलकुमार होडाले स्थानीय संघसंस्थाहरूसँग हातेमालो एवं सहकार्य गर्दै वडाका विकास निर्माण कार्यमा जुट्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

गौरीनगर सुधार समिति र नवजागरुक युवा क्लबको संयुक्त आयोजनामा आज गौरीनगरस्थित मचगा पार्कमा आयोजित जनप्रतिनिधिहरूलाई बधाइ तथा धन्यवाद कार्यक्रमका अवसरमा उहाँले प्रतिवद्धता व्यक्त गर्दै स्थानीयस्तरका समस्याहरूलाई तत्काल समाधान गर्नेतर्फ आफू प्रतिवद्ध भइ लागिपर्ने धारणा राख्नुभएको हो ।
गौरीनगर सुधार समितिका अध्यक्ष कमलप्रसाद काफ्लेले स्थानीयबासीहरूलाई गोलबद्ध गर्दै सामाजिक सुरक्षा तथा फोहोरमैला व्यवस्थापन कार्यमा समेत समितिले उल्लेख्य पहल गर्दै आइरहेको बताउँदै नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत, बधाई तथा निवर्तमान जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले वडाबाट सम्पादित हरेक कार्यहरू समाजमैत्री हुने कुरामा आफूहरू विश्वस्त रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा गौरी मातृशक्ति महिला समूह, सामुदायिक सेवा समाज, जापानी सूचना केन्द्र नेपाल, ॐ आदित्य फाउण्डेशन, उमाकुण्ड टोल सुधार समिति, मैजुबहाल कल्याणकारी गुठी, कुमारीगाल टोल सुधार समाजलगायत स्थानीय संघसंस्थाको उल्लेख्य सहभागिता रहेको थियो ।