काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जिम्मेवारीबाट हटाएसँगै कसरी अघि बढ्ने विषयमा परामर्श गरिरहेको बताएका छन् ।
शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो । शाक्यले वर्तमान सरकारलाई सहयोग गरेर अघि बढ्ने आफ्नो योजना भए पनि आयोगमा सरुवा गरेको बताए ।
उनले सरकारले राम्रो मनसाय बनाएर आयोगमा सरुवा गरेको भए आयोगमा बसेर पनि वर्तमान सरकारलाई सहयोग गर्ने बताए। आफू सहयोग गर्ने पक्षमा रहे पनि सरकारले बिनाकारण सरुवा गरिएको गुनासो उनको छ ।
उनले भने– ‘मेरो विशेषज्ञता सरकारले चाहेको हो भने छुट्टै कुरा हो । म त्यही अनुसार सरकारलाई आयोगमा बसेर सहयोग गर्छु । तर, प्रतिसोध साँधेको हो भने त्यही अनुसार अघि बढ्छु । म सरकारलाई सहयोग गर्ने पक्षमा नै थिएँ । तर, काम गर्ने अवसर समेत नदिई हटाइयो ।’
शाक्यले आफू प्राधिकरणमा दुई पटक नियुक्ति भएको तर दुवै पटक काम गर्ने अवसर नपाएको गुनासो गरे । कानुनी लडाइँमा जाने केही सोच बनाउनुभएको छ भन्ने जिज्ञासामा उनले अहिले कानुनी लडाइँमा जाने कुनै योजना नभएको समेत बताए ।








