काठमाडौँ, १४ वैशाख । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० आउँदो वैशाख २५ गते मंगलबार काठमाडौंमा आयोजना हुने भएको छ । सो अवार्डको प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका पाँच नामहरु हालै एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ ।
वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिन लागेको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करणका लागि आवदेन दिएका गीत सङ्गीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ चौथो संस्करणका अवार्डका लागि आवेदन आव्हान गरिएको थियो ।
आउँदो वैशाख २५ गते मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भजन गीतलाई समावेश गरिएको छ ।
अवार्ड समारोहमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्याउनुभएका एकजना विशिष्ट व्यक्तिलाई दीर्घ साधना सम्मान प्रदान गरिने साथै गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । यसअघि दीर्घ साधना सम्मान वरिष्ठ सङगीतकार राजु सिंह, गुरुदेव कामत र वरिष्ठ गायिका तथा सङ्कलक चन्द्रकला शाहलार्ई प्रदान गरिएको थियो ।