
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १३ जेष्ठ । ११ औं अन्तर्राष्ट्रिय योग दिवस-२०२५ को प्रचार प्रसारको लागि भारतको महावाणिज्य दूतावास, वीरगंज (नेपाल) द्वारा पोखरिया नगरपालिका र जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियाको सहकार्यमा एक योग कार्यक्रमको आयोजना गरेको छ । यो कार्यक्रम शारीरिक एवं मानसिक स्वास्थ्य र आध्यात्मिक कल्याणको लागि योगका अपार फाइदाहरूको बारेमा मानिसहरूमा जागरूकता फैलाउने वाणिज्य दूतावासको पहलको एक हिस्सा हो ।
मंगलबार आयोजित कार्यक्रममा स्थानीय राजनीतिकर्मी, जिल्ला उच्चङ्गल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियाका विद्यार्थीहरू, शिक्षकहरु, नागरिक समाजका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति र पोखरिया नगरपालिकाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान प्रमुख अतिथिको रूपमा तथा पूर्व मेयर दीप नारायण रौनियार पनि विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए ।
यसै गरि भारतका महावाणिज्यदूत देवी सहाय मीना ले आफ्नो संबोधनमा दैनिक जीवनमा योग अभ्यासका फाइदाहरूको बारेमा उल्लेख गरेका थिए । उहाँले यस वर्षको अन्तराष्ट्रिय योग दिवसको थिम अर्थात् ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ को महत्त्वबारे प्रकाश पार्नु भयो ।
त्यसै गरि पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान ले आफ्नो मन्तव्यमा मानव जीवनलाई मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउन योग र आयुर्वेदको महत्त्वमा जोड दिनु भयो । उहाँले नियमित रूपमा प्रत्येक घरमा योग अभ्यास गर्नु पर्ने विचार व्यक्त पनि गरेका छन् ।

आयोजित योग कार्यक्रममा २ सय ५० भन्दा बढी व्यक्तिहरूले उत्साहपूर्वक भाग लिएका कुरा भारतिय महावाणिज्य दूतावास, बीरगंज का सूचना अधिकारी वाणिज्यदूत मनिष कुमार दासले बताएका छन् ।