दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ०१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रादीलाई पनि चित बुझ्ने खालको राजसंस्था आफ्नो पार्टीले ल्याउन चाहेको बताएका छन् । वीरगञ्जमा जारी पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै थापाले गणतन्त्रवादी र परिवर्तनकारीहरूलाई पनि चित बुझ्ने राजसंस्थाको परिकल्पना पार्टीले गरेको बताएका छन् ।

उनले संसद् र संविधानको परिधि र नियन्त्रणमा रहने नैतिक शक्ति भएको अभिभावकको रूपमा सहमति र सम्झौताको राजसंस्थाको परिकल्पना आफूहरूले गरेको जानकारी पनि दिएका छन् । ‘विगतको जस्तो राजसंस्था हामीले परिकल्पना गरेका छैनौँ, २०६३ सालभन्दा अघिको राजसंस्था पुनःस्थापना हुने सम्भावना पनि हामी देख्दैनौ, ‘उनले भने, अहिलेको राजसंस्था भनेको गणतन्त्रादीको पनि चित बुझ्ने, परिवर्तनकारीलाई पनि चित बुझ्ने सहमति र सम्झौताको राजसंस्था हुन्छ ।’

राजसंस्थाको कुरा गरेर स्थापना गरी लोकतन्त्र वा प्रजातन्त्र समाप्त पार्ने प्रयास गरेको भनी आफ्नो पार्टीमाथि लगाइने आरोपमाथि सत्यता नभएको थापाको भनाइ थियो । साथै लामो समयसम्म राप्रपामा रहँदा पार्टी अध्यक्षलाई आफ्नो गुनासो सम्बोधनका लागि पटक–पटक भन्दा पनि रद्दीको टोकरीमा फालिएपछि आफू विरक्तिएर अर्को पार्टी खोलेको थापाले बताए ।

प्रजातन्त्रको सवालमा अन्य दलभन्दा आफ्नो दल एक इन्च पनि कम नभएको उनको दाबी थियो । अहिले मिटर ब्याज, लघुवित्त तथा बैंकको ब्याजका कारण लाखौँ नेपाली जनता समस्यामा भएकाले बढी भन्दा बढी पीडित ऋणीहरूको ऋण मिनाहा गर्नु पर्ने मांग पनि थापाले सरकारसित गरेका छन् । मिटरब्याजलाई सदाका लागि अन्त्य गर्नु पर्नेमा उनको जोड रहेको थियो । कार्यक्रम स्थानिय होटेल सुरजको सभाहलमा सम्पन्न भएको थियो ।