गएको महिना चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री नारायण खड्कालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो हस्तान्तरण गरिएपछि यो विमानस्थलले फेरि एकचोटी चर्चा पायो। 

२२ अर्ब रुपैयाँ लगानीमा ३ हजार ९९९ रोपनी जग्गा अधिग्रहण गरि बनाइएको २५ सय मिटर लामो रनवे सहितको यो विमानस्थलको निर्माण कार्य सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी सीएमसीसीबीच ठेक्का सम्झौता गरि प्रारम्भ गरिएको थियो। 

चीनको अनुदान र ऋण सहयोगमा निर्माण भएको यो विमानस्थलको साँचो हस्तान्तरण गर्दा निर्माण कार्य ९३ प्रतिशत सकिएको बताइएको थियो।

काम पूरा नभइकनै साँचो हस्तान्तरण गरिएको यो परियोजना कहिले पूर्ण रुपमा सम्पन्न होला? कहिलेदेखि यो विमानस्थलबाट हवाई जहाजमा चढेर हामी उड्न सकौँला? अहिले पोखरा बासीको चासो र चिन्ता त्यसैमा केन्द्रित देखिन्छ। त्यसैले स्थानीय निर्वाचनमा यस्ता प्रश्नहरूले महत्व पाउने र खासगरी पोखरमा महानगरका मतदातालाई आकर्षित पार्ने प्रयत्न हुनेछ।  

यी हुन् चार अप्ठ्यारा 
निर्माण काम सकिएपनि विमानस्थलको उत्तर–दक्षिण र पूर्व–पश्चिम गरि चार वटा प्रमुख स्थानमा रहेका समस्याको निराकरण बिना पोखरा विमानस्थल तत्काल सञ्चालन गर्न सकिने अवस्था छैन। पालिखे र परियोजनामा संलग्न अधिकारीहरुका कुरा सुन्दा यी चार समस्या तत्कालै निराकरण भइहाल्ने अवस्था पनि देखिँदैन।

पहिलो, विमानस्थलको उत्तरतिर रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर उचाई नघटाइ विमानस्थलमा ठूला जहाजले अवतरण र उडान भर्न सक्दैनन्। डाँडा र रुख काट्न वातावरणीय मूल्यांकन हुन अझै बाँकी छ। दुई हेक्टर क्षेत्रफलमा फैलिएको डाँडाको उचाई घटाउन र त्यहाँ रहेका रुख काट्न वन मन्त्रालयको अग्रसरताले कति समय लिन्छ, त्यही अनुरुप काम अगाडि बढ्ने देखिन्छ।

लामो समयसम्म वातावरण मूल्यांकन फाइल वन मन्त्रालयले च्यापेर राखि दिएकाले डाँडा घटाउने कार्य हुन नसकेको विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीले नेपालखबरलाई बताएका थिए। गएको वर्ष संसदको दिगो विकास तथा सुशासन समितिले डाँडा काट्न दिएको निर्देशन प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन। डाँडा नकाटेसम्म हवाई उडान अनुमति दिने अन्तर्राष्ट्रिय नियमनकारी संस्था आइकाओबाट उडान अनुमति प्राप्त हुँदैन।