दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले आज बिहान करिब ०८:३० बजेको समयमा २ सय ७० किलो ग्राम प्रतिबन्धित लागुऔषध गाँजा लोड रहेको एक भारतीय मालवाहक ट्रक सहित दुई जनालाई आफ्नो नियन्त्रणमा लिएको कुरा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

आयोजित पत्रकार सम्मेलनमा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की ले वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भैरहेको भन्ने प्राप्त सूचनाको अधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वडा नं.२१ परवानीपुर सडकखण्डमा UP 21 AN 9957 नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्दा उक्त ट्रकको चालक बस्ने क्यावीनमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेकोले बरामद गरिएको गाँजा, ट्रक तथा त्यसमा सवार भारतको विहार राज्य जिल्ला मोतिहारी ग्राम सेमरी वडा नं. ११ बस्ने वर्ष २७ को बिजेश कुमार यादव तथा भारत कै बिहार राज्यको जिल्ला पूर्वी चम्पारण ग्राम पलडवा बस्ने वर्ष ५० को धर्मेन्द्र यादव लाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कुरा सूचना अधिकारी कार्की ले बताएका छन् ।