९ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सलमान खान, अजय देवगन, वरुण धवन, डेभिड धवन, सोनु सूदलगायत बलिउडका चर्चित कलाकारहरूले सम्पर्क गरी आर्थिक सहयोग गरेका छन् ।
राजपाल यादवका म्यानेजरका अनुसार बुधबार विभिन्न कलाकारहरूले व्यक्तिगत रूपमा सम्पर्क गरी सहयोगको प्रतिबद्धता जनाएका हुन् । उनले धेरै व्यक्तिहरूले आर्थिक तथा नैतिक समर्थन दिएको र राजपाल यादवले सबैप्रति आभार व्यक्त गरेको बताएका छन् ।
जमानतका लागि आवेदन दायर भइसकेको र सुनुवाइ छिट्टै हुने जनाइएको छ । परिवारले उनलाई चाँडै रिहा गरिने आशा राखेको छ। म्यानेजरले कानुनी प्रक्रिया अघि बढिरहेको र विहिबार उनी बाहिर आउँ सक्ने बताए ।
यसैबीच, फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइजले पनि निर्माता तथा सम्बन्धित पक्षलाई राजपाल यादवलाई सहयोग गर्न अपिल गरेको छ । फेडरेशनले कठिन अवस्थामा उद्योगले एकता र सहानुभूति देखाउनुपर्ने उल्लेख गरेको छ ।
राजपाल यादवले सन् २०१० मा एक फिल्म निर्माणका लागि लिएको ऋण समयमै तिर्न नसक्दा चेक बाउन्स भएको थियो । ५ करोड ऋण लिएकोमा ब्याज थपिँदै जाँदा रकम बढेर करिब ९ करोड रुपैयाँ पुगेको बताइएको छ । अदालतले यसअघि उनलाई दोषी ठहर गरिसकेको र पटक पटक सहुलियत दिदा पनि रकम नतिरेपछि गत शुक्रबार उनले सरेन्डर गरेका थिए । त्यसयता उनी तिहाड जेलमा रहेका छन् ।










