लोप हुँदै जोगिरा सर…सरररररररर…

जनकपुरधाम । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको छ ।

होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ ।
कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?
कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
जोगीरा सर र र !!!’

(कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदङ्ग, कुन तालमा कान्छी नाच्छे कुन ताल म)

मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद् बताउछन् । होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीतविनाको होलीको परिकल्पना नै गर्न सकिँदैन । भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो ।
स्थानीयहरुको पुर्खौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा आफ्नै गुनासो छ । पहिले पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएकाबारे गीत गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउने बुढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागु गीत नै गाइन्छ ।

यसपालीको होली आइसक्यो, न डम्फू बज्छ..न जोगिरा…का स्वर नै सुनिन्न । 

वसन्त पञ्चमीसँगै होली (फागु) पर्वको सन्देश छर्ने जोगिरा…(फागु गीत) अब सुनिन छाडेपछि धनुषासहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ ।

किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी ?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी !!
जोगिरा..सररर..!!’

(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन् । होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलियाहरु बताउँछन् ।

सामाजिक छुवाछूत, ठूला साना जात र भिन्नभिन्न धर्म संस्कृति प्रति परहेज गर्ने पनि एक अर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ ।

तर, यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । ख्यालठट्टा गरिने नाताबीचका नवयौवनामात्र नभई होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन । मिथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) सुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होली पर्व मनाउन थालिने परम्परा छ । 

होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पिरती तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीतहरु आएकाले होलीमा माधुर्य र प्रेम भाव मिसिएको गीत बिरलै सुन्न पाइन्छ । दोहोरी गीत झैँ गाइने जोगिरा र होलीका गीतका कारण तराई मधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रौनक छाएको हुन्थ्यो तर ती गीत भने अहिले लोप हुने अवस्थामा पुगेका छन् । भित्री ग्रामीण क्षेत्रमा कुनै कुनै गाउँ घरमा मात्र यस्तो जोगिरा सुन्न पाइन्छ । 

होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँजसो हुने झै-झगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ । होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ । अबको होली होली नभएर भोगवादी र सहरमुखी होली भएकाले यसको पौराणिकतासंँग जोडिएको होली गीत हराउँदै गइरहेको छ ।

पहिलेपहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगतरुपमा होली गीत जोगिरा गाउने गरिन्थ्यो । अब भने त्यो समय हराएर गएको छ ।

अहिले अधिकांश युवा कामका लागि अरब कतार खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको गुनासो स्थानीयको छ । अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यतापूर्ण भएको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखा परेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ । फागु पर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन् । पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । अब उच्छृङ्खल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको छ ।

यस्तो गीतमा अश्लील शब्द बढी भएको पाइन्छ । मिथिलाको सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्धरुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेकामा संस्कृतिविदहरुले जोड दिएका छन् । पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप, सीताराम र शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलताजस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको छ । 

गाउँघरमा आजभोलि होलीका सांस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ । वसन्त ऋतुको आगमन सँगसँगै  वसन्तोत्सव पर्वका रुपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुन थालेकाले यसको संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्थाले यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने देखिएको छ । होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासीजस्तो ।

पौराणिक कथानुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हीरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँंगै आगोमा जलाउँदा होलीका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढांइँ गर्ने चलन रहिआएको मान्यता छ । तराई–मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षणका लागि पछिल्लो केही वर्षदेखि जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद (मिनाप) ले गाउँगाउँबाट होलियाहरुलाई झिकाएर जोगिरा प्रतियोगिता गराउने गरेको छ ।

  • Related Posts

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा…

    आज बुद्ध जयन्ती मनाइदै

    काठमाडौँ । आज २५७०औं बुद्ध जयन्ती मनाइदै छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको…

    पहिलो

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 12 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 25 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 7 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 20 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 31 views