एप्पलले आफ्नो चर्चित डेस्कटप कम्प्युटर म्याक प्रोलाई आधिकारिक रुपमा बन्द गरेको छ । कम्पनीले ठूलो घोषणा नगरे पनि म्याक प्रोको यात्रा समाप्त भएको पुष्टि गरेको छ ।
म्याक प्रो विशेषगरी भिडियो सम्पादनकर्ता, विकासकर्ता र डिजाइनरजस्ता पेशागत प्रयोगकर्तालाई लक्षित गरेर बनाइएको थियो । सन् २०१९ मा सार्वजनिक भएको यसको ‘चिज ग्रेटर’ डिजाइनले निकै चर्चा कमाएको थियो । उच्च क्षमता र सजिलै भाग परिवर्तन गर्न मिल्ने विशेषताले यो उपकरण फरक पहिचान बनाएको थियो ।
कम्पनीले आफ्नै चिप प्रयोग गर्न थालेपछि हल्का, छिटो र ऊर्जा बचत गर्ने उपकरणमा ध्यान केन्द्रित गर्यो । यही परिवर्तनसँगै म्याक प्रो क्रमशः पछाडि पर्दै गएको देखिएको हो ।
यसैबीच म्याक स्टुडियोले म्याक प्रोको स्थान लिएको छ । सन् २०२३ मा नयाँ चिपसहित म्याक प्रो अपडेट भए पनि खास प्रभाव देखिएन । तर सानो आकार, उच्च क्षमता र नयाँ प्रविधिका कारण म्याक स्टुडियो पेशागत प्रयोगकर्ताबीच छिट्टै लोकप्रिय बनेको छ ।
हाल कम्पनीको उत्पादन सूची अझ स्पष्ट बनेको छ । आइम्याक दैनिक प्रयोगका लागि, म्याक मिनी सानो सेटअपका लागि र म्याक स्टुडियो उच्च क्षमताका कामका लागि उपलब्ध छन् । त्यस्तै म्याक बुक एयर र म्याक बुक प्रो जस्ता ल्यापटपले पनि विभिन्न प्रयोगकर्ताको आवश्यकता समेटिरहेका छन् ।
म्याक प्रो पहिलो पटक सन् २००६ मा सार्वजनिक गरिएको थियो । त्यसपछि सन् २०१३ मा आएको नयाँ डिजाइनले विवाद समेत निम्त्याएको थियो । पछि सन् २०१९ मा फेरि पुरानै शैलीमा फर्काइएको यो उपकरण कम्पनीले आफ्नै चिप प्रयोग गर्न थालेपछि विस्तारै अप्रासंगिक बन्दै गएको थियो ।
अन्ततः नयाँ प्रविधि र प्रयोगको बदलिँदो शैलीसँगै म्याक प्रोको स्थान म्याक स्टुडियोले लिएको छ । लामो समयसम्म उच्च क्षमताको प्रतीक मानिएको म्याक प्रो अब प्रविधिको इतिहासमा सीमित हुने भएको छ ।










