चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

सर्लाही । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो ।

सधैँ चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी नगरपालिका-९ का ४२ वर्षीय साहले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाएका छन् । बिहान ४ देखि अबेर साँझसम्म उनको चिया पसल चियाका पारखीले घेरिरहेको हुन्छ ।

“दैनिक सबेरै पसलमा आउँछु, साँझ ८ बजे मात्र पसल बन्द गरेर घर फर्कन्छु, विगत १८ वर्षदेखिको मेरो दैनिकी यही हो”, साहले भने-“कहिलेकाहीँ बिहान थोरै ढिला हुँदा पनि ग्राहकले गाली गर्नुहुन्छ ।” विसं २०५९ मा लालबन्दी नगरपालिकास्थित बस्तीपुरमा रहेको जनज्योति माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु पहिला नै उनले चिया पकाउनु सुरु गरेका थिए । रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका-५ पुर्ख्यौली घर भएको साह परिवार बागमतीको बाढीले घर खेत बगाएपछि लालबन्दी बसाइँ सरेको हो । हाल बसोबास रहेको स्थान साहको मामाघर हो ।

“घर खेत बागमतीको बाढीले बगाएपछि मामाघरका हजुरबुबाले आमाबुबालाई यतै बोलाउनुभयो”, उनले भने, “त्यसपछि आमाबुबाले हरियो मकै पोलेर, बदाम भुटेर बेच्ने र त्यसबाट आएको पैसाले परिवारको गुजारा गर्नुहुन्थ्यो ।”

आमाबुबालाई सघाउँदासघाउँदै परिवारका लागि आफूले पनि केही गर्नुपर्छ भनेर चिया बेच्न सुरु गरेको साहले बताए । “ज्योतिषले हात हेर्दा होटल व्यवसाय फाप्छ भनेका थिए”, उनले भने, “होटल खोल्न परिवारसँग पैसा थिएन । धेरथोर ऋण गरेर चिया व्यापार सुरु गरेँ ।” यसैबाट परिवारको गुजारासँगै घरबास जोडेको उनले बताए । साहले बिहान सबेरैदेखि राति अबेरसम्म दैनिक झण्डै तीन सय कप चिया बेच्ने गरेको सुनाए । त्यसबाट उनले दैनिक रु. छ हजारसम्मको कारोबार हुन्छ ।

चियाका लागि दैनिक डेरीबाट ४० देखि ५० लिटर दूध किनेर ल्याउने गरेको साहले बताए । “प्रतिलिटर दूधको रु. ९० तिर्नुपर्छ”, उनले भने, “एक कप चिया रु. २० मा बेच्छु ।” उनका अनुसार पसलमा आउने धेरै ग्राहक नियमित रूपमा आउने गरेका छन् । चिया बेचेरै आफूले लालबन्दीमा १५ धुर घडेरी किनेर एकताले पक्की घर बनाएको साहले सुनाए ।

“त्यति बेला घडेरी किन्दा रु. एक लाख तिरेँ”, उनले सुनाए, “बिस्तारै बिस्तारै गरेर रु. ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाए । खान लगाउन अहिलेसम्म समस्या भएको छैन ।” महिनामा रु. एक लाख ५० हजारभन्दा बढीको कारोबार हुने गरेको उनको भनाइ छ ।

सुरुमा एक वर्ष चिया पसल चलाउँदा उधारो भएर घाटा लागेको साहको अनुभव छ । त्यसयता उनले फेरि जीवन गुजाराको विकल्प सोच्नुपरेको छैन । चिया पसलबाट पैसाका साथै साथीभाइ र नाम कमाएको साहको भनाइ छ । साथीभाइकै सहयोगमा पाँच महिना अघि उनले छोरालाई उच्च शिक्षा अध्ययनका लागि जर्मनी पठाएका छन् ।

साहका अनुसार कान्छो छोरा कक्षा ११ मा र छोरी कक्षा १० मा बोर्डिङ स्कुलमा पढिरहेका छन् । चिया व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारका बारेमा सोच्न नसकेको उनी बताउँछन् । लालबन्दी साहको मावली गाउँ भएकाले सबैले उनलाई भान्जा भनेर सम्बोधन गर्छन् । उनी पनि चिया खान आउने साना ठूला सबैलाई मामा भनेर सम्बोधन गर्छन् । त्यसैले साहको चिया पसल लालबन्दीभरि ‘भान्जाको चिया पसल’का नामले परिचित छ ।

  • Bishnu Timalsina

    Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    पहिलो

    • June 2, 2026
    • 36 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन