जिल्लामा एमबीबीएस पठनपाठन सुरु भएपछि झापावासी हर्षित

झापा । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरु भएपछि झापावासीले खुसी व्यक्त गरेका छन् ।

बिर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साबिकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरु गरेको हो ।

काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर-१२ धाइजनमा अलग्गै सुविधा सम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । बिर्तामोड-५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ ।

प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरु हुनु झापावासीका लागि गर्वको विषय भएको बताए । “समाजमा पछाडि पारिएका आदिवासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुन्थ्यो,” उनले भने, “राजवंशी, सन्थाल, मेचे, धिमाल, ताज पुरियालगायत आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै छ ।”

नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले खाडी मुलुकमा पसिना गालेर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इञ्जिनीयर पढाउन अस्ट्रेलिया, युरोप र अमेरिका पठाउनुपर्ने बाध्यता अब हट्ने भन्दै जिल्लामा मेडिकल शिक्षा सुरु भएकोमा खुसी व्यक्त गरे । उनले देशभित्रै पढ्न नपाउँदा बर्सेनि अर्बौँ रकम विदेश गइरहेको जनाउँदै बिएन्डसी मेडिकल कलेजले अध्ययनको नाममा नेपाली पुँजीको विदेश पलायन रोक्न ठूलो सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

झापा अब मेडिकल हब बन्ने धारणा राख्दै उनी भन्छन्, “कलेजको नाफा र घाटा सञ्चालकको भए तापनि मेडिकल कलेज सम्पूर्ण झापावासीको साझा सम्पत्ति हो । हिजोका दिनहरूमा झापालीहरू डाक्टर पढ्न विदेश जान्थे, अब विदेशबाट झापा आउने क्रम सुरु भएको छ ।”

महिला मानवअधिकार रक्षा सञ्जाल झापाकी अध्यक्ष कविता बास्तोलाले छोरी बुहारीका लागि स्वास्थ्य विज्ञान विषयमा अध्ययन गर्न जिल्लामै सुनौलो अवसर आएको बताइन् । उनले विदेशमा डाक्टर पढ्न जाँदा सुरक्षाका लागि विवाह गर्नैपर्ने र परनिर्भर हुनुपर्ने बाध्यताबाट छोरीहरूले छुटकारा पाएको जनाउँदै जिल्लामै यस्तो अवसर सिर्जना हुनु लैंगिक दृष्टिकोणले सकारात्मक भएको बताइन् । “छोरीहरूले विदेश पढ्न जान सहज थिएन,” उनी भन्छिन्, “पुरुष साथी खोज्नुपर्ने र कतिपय अवस्थामा विवाह गर्नैपर्ने बाध्यात्मक अभ्यास थिए । अभिभावक पनि त्यस्तै चाहन्थे । तर, जिल्लामै एमबीबीएस पढ्ने अवसर पाउँदा ती तमाम समस्याको एकैचोटी समाधान भएको छ । जिल्लामै अभिभावकसँग बसेर पढ्न पाइने भएको छ ।”

नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश कमिटी सदस्य एवं झापा क्षेत्र नं १ का इञ्चार्ज प्रकाश भण्डारीले बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सुरु हुनु भनेको झापाको शैक्षिक इतिहासमा नयाँ युगको थालनी भएको बताए । “अझ धेरै अगाडि एमबीबीएसको पढाइ झापामा हुनुपर्थ्यो,” उनले भने “क्षमता भएका जिल्लावासीका छोराछोरीले आफ्नै आँगनमा मेडिकल शिक्षा हासिल गर्न सक्ने अवस्था आउनु गौरवको विषय हो । विदेशमा मात्रै पढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बंगलादेशमा गत वर्ष आन्दोलन हुँदा नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सकस भएको हामीले भुल्नुहुँदैन । अब जिल्लामै पढ्न पाएपछि विदेशको अनेक जोखिम मोल्नु परेन ।”

नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय सचिव जय धर्म पोखरेलले बंगलादेशमा एउटा नेपालीले एमबीबीएस कोर्स पूरा गर्न रू. एक करोड तिर्नु परिरहेको जनाउँदै बिएन्डसीले जिल्लामै पठनपाठन गराउँदा हरेक ब्याचमा रू. ५० करोड पुँजी विदेश जानबाट रोकिने बताए ।

उनले दुई वर्ष अघि बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सञ्चालन हुन सकेको भए आफ्नो छोराले बंगलादेश जानु नपर्ने स्मरण गर्दै ढिलै भए पनि झापामा पढाइ हुँदा अभिभावकमा खुसीको माहौल छाएको बताए । उनी भन्छन्, “मेरो छोराले बाध्यता बस बङ्गलादेशमा पढ्न जानुपर्‍यो । हामी विदेशमा ठूलो धनराशि खर्चेर पढ्न जानुपर्ने अवस्थाको अन्त्य भएको हेर्न चाहन्थ्यौँ । झापामा एमबीबीएसको पढाइ अलि अगाडि नै सुरु हुनुपर्थ्यो ।”

विदेशीहरू पढ्न आउन थाले
यही पुस २६ गतेदेखि पठनपाठन सुरु भएको बिएन्डसी मेडिकल कलेजमा अध्ययनरत ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् ।

स्वदेशी ३४ जनामध्ये पाँच जनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । “पश्चिम बंगालको बागडोग्रा विमानस्थलबाट ३५ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बिएन्डसी पहिलो रोजाइ बनेको पाइयो,” जनसम्पर्क अधिकृत गिरीले भने, “हिजोका दिनमा नेपाली मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता थियो, अब विदेशीहरू धाएर नेपालमा आउन थाले ।”

आफ्नै जिल्लामा एमबीबीएस तहको पठनपाठन गराउने झापावासीको दशकौँ पुरानो चाहना बल्ल पूरा भएको जनाउँदै उनले मेडिकल कलेजका लागि विसं २०६८ मा सरकारबाट आशय पत्र पाउँदा र विसं २०७१ मा ३०० शय्याको अस्पताल सञ्चालन हुँदासमेत पठनपाठन सुरु हुन एक दशक कुर्नुपरेको बताए ।

सत्तरी जना प्रोफेसर कार्यरत
बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बीएन्डसी कान्छो कलेज भएको स्मरण गर्दै पठनपाठन सुरु हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताए । उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बिएन्डसी मेडिकल कलेज रोजेको जनाउँदै मेचीनगर-१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजीलगायतका सुविधा सम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको बताए ।

“शान्त र सुविधा सम्पन्न छ पढाउने भवन,” प्राडा शर्माले भने, “बेसिक साइन्स भवनमा पाँच तला छन् । दुई वटा ठूला सेमिनार हल छन् । सात वटा डिपार्टमेन्टका अलग अलग कक्षा कोठाहरू छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।” सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै उनले झापामा बिएन्डसी अस्पतालको स्थापनापछि एक हजार जनाले प्रत्यक्ष रोजगार पाएको र अब कलेज सञ्चालन भएपछि अरू एक हजार रोजगारी सिर्जना हुने बताए ।

“भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिका दृष्टिले बिएन्डसीले धेरै अगाडि मेडिकल कलेजको सम्बन्धन पाउनु पर्थ्यो,” प्राडा शर्माले भने, “सुरुमै पढाइ हुन पाएको भए यतिखेर एक हजार जनाले एमबीबीएस उत्तीर्ण गरिसक्थे भने यहाँ पढ्नेहरू प्रोफेसर भइसक्थे ।” झापाको आर्थिक विकासमा बिएन्डसी मेडिकल कलेज र हस्पिटलले ठूलो टेवा पुर्‍याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिज्मको हब बनाउने बाटो खुलाएको उनको धारणा छ ।

सर्वोच्च अदालतले विसं २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 17 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 22 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि