बाली लगाउने बेला सधैँ बीउकै चिन्ता   

महोत्तरी । जब नयाँ बाली लगाउने बेला भयो, महोत्तरीका किसानलाई बीउको चिन्ता हुन्छ । मौसम र बेलाअनुसार अहिले गहुँ छर्ने तयारी गर्ने बेलामा बीउ के गर्ने भन्ने चिन्ताले यहाँका किसान पिरोलिँदैछन् ।

‘बेलामा बीउ पाइने ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्’, बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका किसान महेन्द्र महतो बिरक्तिँदै भन्छन् , ‘सधैँ बाली लगाउने बेला भयो कि यसैको चिन्ता !’ अब सामान्यत बेलैमा गहुँ छर्न पाइँदा मङ्सिर २२ भित्र सक्नुपर्ने हुँदा अहिलेदेखि नै बीउको चिन्ता परेको उनी बताउँछन् ।

कुनै बालीका लागि नठगिने बीउ पाउने ठाउँ आफूहरूले नपाएको किसानको गुनासो छ । ‘धान होस् कि मकै वा गहुँ, आलु होस् कि अरू कुनै तरकारीका बीउ, यो चाहिँ भरपर्दो हो भनेर चित्त बुझाएर लिन पाइँदैन’, महेन्द्रकै छिमेकी अर्का किसान भोला महतो भन्छन् , ‘सब भगवान् भरोसे !’

जिल्लाका स्थानीय तहहरूमा कृषि शाखा रहने व्यवस्था भए पनि बाली लगाउने तुक (ठीक बेला) मा नियमित रूपमा बीउ पाइने अवस्था नभएको किसान बताउँछन् । ‘कुनै कुनै साल त अनुदानको बीउ आ’को छ भन्ने सुनिन्छ, दौडादौड गर्ने कतिले थोरतिन पाउँछन्, फेरि दुई/चार वर्ष ती निदाउँछन्’, स्थानीय तहका कृषि शाखाबारे टिप्पणी गर्दै गौशाला-११ का किसान अरुण कुशवाहा भन्छन् , ‘यो अनुदानको हल्ला पिटिनुभन्दा भरपर्दो बीउ उचित मूल्य तिरेर आवश्यक मात्रामा पाउने सुनिश्चितता भए ढुक्क त हुइथ्यो ।’ किसानलाई अनुदानको बीउ कहिले आउँछ भन्नेभन्दा राम्रो बीउ उचित मूल्यमा खोज्दा पाइने भए राहत हुने कुशवाहा बताउँ५न् ।

आफ्ना ठाउँ र बजारमा बीउ नपाउँदा महोत्तरीका अधिकांश किसान भारतीय बजारमा निर्भर छन् । उताबाट (भारतीय बजार)ल्याइएको बीउमा कैयौँ पटक ठगिएको किसानको अनुभव छ । तर, आफू कहाँ कुनै भर नहुँदा जेजस्तो पाइए पनि भारतीय बजार नै जानपर्ने बाध्यता रहेको बलवा-१० रौजाबजारका मंसुल कवारी बताउँछन् । ‘मकै र तरकारीका बीउ त भारतीय बजारकै भर हो, कवारी भन्छन्, ‘आलु र उखु चाहिँ अझै यता पाइँदैछ, धान र गहुँका लागि पनि बाक्लै भारत गएका छौँ ।’

कैयौँ पटक भारतीय बजारबाट ल्याइएको बीउमा पनि ठगिएको उनी सम्झिन्छन् । ‘धेरैजसो मकैको बीउमा यस्तो भएको छ, कति नउम्रने, कति घोगा नलाग्ने, तर यो व्यथा कसले सुनीदिने ?’ निराशा पोख्दै उनी भन्छन् ।

यहाँका किसानलाई एक दशक पहिलेसम्म जिल्ला कृषि विकास कार्यालय र जिल्लाका ठाउँठाउँमा रहेका कृषि सेवा केन्द्र र उपकेन्द्रको सेवा बरु सम्झना हुन्छ । ‘कहिलेकाहीँ नमूना भनेर बीउ पनि दिन्थे, बाली हेर्न आइदिनोस् भन्दा जेटीरजेटिए आइदिन्थे, सल्लाह पाइन्थ्यो’, रामगोपालपुर-२ का किसान कादिर हुसैन पुराना दिन सम्झँदै भन्छन्, ‘खै गाउँमा सिंहदरवार आयो भन्छन्, हामी किसानका सहुलियतका दिन चाहिँ आएनन् ।’

जिल्लाका १५ स्थानीय तहमध्ये एकाधमा मात्र कृषि शाखा व्यवस्थित छन् । धेरैजसो स्थानीय तहमा कृषिसम्बद्ध कर्मचारी छन् छैनन् रु सर्वसाधारण किसानले थाहा नै पाउँदैनन् । कृषि शाखा सञ्चालनको मुख्य जिम्मेवारी भए पनि स्थानीय तहका नेतृत्वकर्ताको प्राथमिकतामा कृषि नपर्दा आम किसानले परिवर्तनको अनुभूति सँगाल्न नसकेका कृषिक्षेत्रको सरकारी सेवामा सहसचिव पदबाट अवकाश लिएका भङ्गाहा-५ सीतापुरका बासिन्दा कृषिविज्ञ रामबहादुर भुजेल बताउँछन् ।

किसानले राहत पाउन वा कुनै सल्लाह लिन पनि कृषि प्राविधिक नभेटाउने गरेका आम गुनासो छ । जिल्लाको मुख्य पेसा र निर्भरता खेतीमै भए पनि जिम्मेवार तह र व्यक्तिको प्राथमिकतामा यो नपर्दा कृषिक्षेत्र दिनदिनै उपेक्षित हुँदै गएको जिल्लाकै हतिसर्वा सग्रामपुरका बासिन्दा सरकारी सेवाबाट निवृत्त अर्का कृषिविज्ञ जासर यादवको प्रतिक्रिया छ ।

कृषि विषय र शीर्षकमा सङ्घीय र प्रदेश सरकारका बजेटमा रकम विनियोजित भए पनि नाङ्गा खुट्टाका गरिब किसानले त्यसबाट अवसर पाउँदैनन् । ती रकम कागज मिलाएर टाठाबाठाले नै हात पार्ने गरेका अगुवा किसान बर्दिबास-६ चौलिखाका पर्शुराम ठाकुर बताउँछन् ।

कृषिक्षेत्रको यो अव्यवस्था चिर्न मुख्य रूपले स्थानीय तहहरू नै जिम्मेवार हुनुपर्ने अगुवा किसानको सल्लाह छ । स्थानीय तहहरूले व्यवस्थित कृषि शाखा सञ्चालन गरे सङ्घीय र प्रदेश सरकारका कृषि शीर्षकका रकम समुचित ठाउँमा पुग्ने वातावरण पनि बन् सक्ने ठाकुरको सुझाव छ ।

आम किसान भने आफ्नो सरकार र आफ्ना प्रतिनिधि रहेको अनुभूति सँगाल्न समयमा कृषि ज्यावल, बीउ बिजन, मलखाद र सहुलियत कृषि ऋणसँगै चाहिएको बेला प्राविधिक सरसल्लाह पाइने दिन पर्खिएको बताउँछन् ।

  • Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको ३ लाख ११ हजार ३ सयमा…

    पहिलो

    • June 2, 2026
    • 24 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 38 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 39 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 45 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 42 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 41 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन