दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २९ श्रावण । नेपाल स्थित भारतीय राजदूतावास र बीरगंज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा कलामण्डलम रमणकुट्टी र उनको समूह द्वारा कथकली नृत्य प्रस्तुति को आयोजना गरेका छन् ।
नेपाल स्थित भारतीय राजदूतावास र बीरगंज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा अगस्ट १३, २०२५ अर्थात् श्रावण २८ गते बीरगंजको टाउन हलमा प्रसिद्ध कलामण्डलम रमनकुट्टी र उनको समूहद्वारा मनमोहक कथकली नृत्य प्रस्तुति सफलतापूर्वक आयोजना गरिएको थियो ।
कार्यक्रममा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, राजनीतिक दलका प्रतिनिधिहरू, पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत प्रहरी प्रमुखहरू, कला प्रेमी, विद्यार्थी तथा स्थानीय समुदायका सदस्यहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
उक्त प्रस्तुतिले कथकलीको प्राचीन कला मार्फत भारतको समृद्ध सांस्कृतिक सम्पदा प्रदर्शन गर्यो, जसले दर्शकहरूलाई मंत्रमुग्ध बनायो । कलामण्डलम रमनकुट्टीको उत्कृष्ट प्रस्तुति, उनको समूहको ऊर्जावान र सटीक कार्यान्वयन सँगै पौराणिक कथाहरूलाई मञ्चमा जीवन्त बनायो ।
यो कार्यक्रम भारत र नेपाल बीचको दिगो सम्बन्धको प्रमाण थियो, जसले दुई देशहरू बीचको साझा सांस्कृतिक मूल्य मान्यता र परम्पराहरूलाई उजागर गर्यो ।

यसै गरी मा. मन्त्री प्रमोद जयसवालले आफ्नो सम्बोधनमा नेपाल र भारतको साझा सांस्कृतिक सम्पदामा जोड दिएका छन् ।
बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नो सम्बोधनमा दुई देशहरू बीचको शताब्दी पुरानो सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध माथि प्रकाश पार्नु भएको थियो भने श्री कलामण्डलम रमनकुट्टी र वहाँको टोलीलाई मनमोहक प्रदर्शनको लागि धन्यवाद पनि दिनु भएको थियो ।
साथै दर्शकहरूको उत्साहको पनि कदर गर्नु भएको छ । कार्यक्रमको समापन उभिएर ताली बजाएर गरियो, जसमा उपस्थितहरूले सांस्कृतिक आदानप्रदान र कलात्मक उत्कृष्टताको प्रशंसा पनि गरेका थिए ।










