दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगंज, ०४ भाद्र । वीरगंज महानगरपालिकाले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने प्रक्रिया तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ ।
भूमिसमस्या समाधान आयोग, पर्साले जिल्लाभर भूमिहीनको लगत संकलनलाई अन्तिम चरणमा पु¥याइरहेका बेला महानगरले आयोगसँग सहकार्य गर्दै आफ्नो क्षेत्रमा रहेका भूमिहीनलाई विधिअनुसार जमिन उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको हो ।
मंगलबार महानगर प्रमुख राजेशमान सिंहले ३२ वटै वडाका वडा सचिवहरुलाई कार्यकक्षमा बोलाई भूमिहीनको लगत संकलन छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो– “जसको जमिन छैन, उसलाई जग्गा पाउने व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि प्रक्रिया पूरा गरेर लगत चाँडै बुझाउनुस् । यसबाट भूमिहीन परिवारको जीवनमा ठूलो सहजता आउनेछ।
”भूमिसमस्या समाधान आयोग, पर्साका अध्यक्ष तबरेज अहमदले भने वीरगंज महानगर अहिलेसम्म भूमिहीनको विवरण आयोगमा नबुझाएको भन्दै असन्तोष प्रकट गर्नुभयो । उहाँले भन्नुभयो– “महानगरले अब ढिलाइ गर्न हुँदैन । या गर्न सक्दैनौँ भन्नुपर्छ, होइन भने काम तत्काल पूरा गर्नुपर्छ । अहिले जिल्ला नै लगत संकलनमा जुटिरहेको छ । महानगरकै लागि अन्तिम पटक समय थप गरिएको पनि उहाले जानकारी दिनुभयो ।”

अनौपचारिक तथ्यांकअनुसार वीरगंज महानगर क्षेत्रमा करिब १५ सय हाराहारीमा भूमिहीन परिवार रहेको अनुमान छ । कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यसहित आयोगले महानगरलाई जिम्मेवार भएर कार्य सम्पादन गर्न आग्रह गरेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले आयोगसँग घनिष्ठ समन्वय गर्दै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कार्यमा महानगर पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– “भूमिसम्बन्धी कार्यलाई व्यवस्थित गर्न महानगरमा छुट्टै शाखा गठन गरी लगत संकलन तत्काल सुरु गर्ने व्यवस्था मिलाइनेछ ।
”लगत संकलन कार्य चाडै अघि बढे लामो समयदेखि जमिनको अधिकारविहीन बनेका भूमिहीन परिवारलाई लालपुर्जा प्राप्त गर्ने मार्ग खुला गर्ने विश्वास गरिएको छ ।







