राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण

गण्डकी, २४ असार : निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ ।

स्तरोन्नतिको चरणमा रहेका पोखरा–मुग्लिन र हरिचोक–याम्दी सडक समयमै नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ भण्डारढिक, तालचोक, विजयपुर हुँदै मुख्य सहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ । वर्षात्का बेला चलिरहेको निर्माण कार्यले सडक अस्तव्यस्त देखिन्छ । सवारीसाधन पार्किङ गर्न उस्तै समस्या छ । अमरसिंहचोक, बुद्धचोकलगायत क्षेत्रमा वर्षात्को भलले सडक क्षत्विक्षत् बनाएको छ । पानी जमेका खाल्डाखुल्डीले सवारीसाधन चलाउन कठिनाइ भएको छ । सडक स्तरीय नहुँदा पैदलयात्रीलाई झन समस्या भएको छ । सामान्य मर्मत गर्नसमेत कसैको ध्यान पुगेको देखिन्न । सडककै कारण सवारीसाधन जाममा पर्ने गरेको चालक बताउँछन् । सडक निर्माणमा जति ढिलासुस्ती भयो उति समस्या लम्बिँदै जाने उनीहरुको भनाइ छ । मनसुन सक्रिय भएपछि पोखरा–मुग्लिन सडकमा यात्रा गर्न थप कष्टकर बनेको छ । दुई वर्षअघि सुरु भएको उक्त सडक विस्तार तथा स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ । आयोजना कार्यालयले सडक निर्माण पूरा हुन अझै दुई वर्ष लाग्ने जनाएको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत दुई हजार दुई सय मिटरको हरिचोक–याम्दी सडक दुई वर्ष बित्दासमेत स्तरोन्ननि हुनसकेको छैन । पोखरालाई मध्यपहाडी लोकमार्ग हुँदै पश्चिम नेपालसँग जोड्ने उक्त सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीले समयमै हुन नसकेको हो । पोखरा महानगरपालिका–१ का वडाध्यक्ष सहारा प्रधानले सडक निर्माण समयमै सक्न पटक–पटक दबाब दिँदा पनि सुनुवाइ हुन नसकेको बताउनुभयो । उक्त राजमार्ग भएर यात्रा गर्ने यात्रु मात्र नभएर स्थानीयवासी पनि धूलो र हिलोले हैरान छन् । वर्षात्मा ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा आयोजना कार्यालय र निर्माण कम्पनीप्रति स्थानीवासी रुष्ट छन् । सोही सडकका कारण पोखरासम्मको यात्रा झञ्झटिलो र लामो बनेको यात्रुको गुनासो छ । पोखराको जिरो किलोमिटरदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो । बीचको झण्डै दुई हजार दुई सय मिटर सडक विस्तार र कालोपत्र गर्न बाँकी रहेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । केही ठाउँमा नाला निर्माण र पर्खाल चिन्ने काम भए पनि सडकको भौतिक प्रगति न्यून छ । आयोजना कार्यालयले कामलाई गति दिन निर्माण व्यवसायीलाई पटक–पटक ताकेका गर्दै आएको छ । आयोजनाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायत सरोकारवाला पक्षबीचको बैठकमा सडक निर्माण छिट्टै सक्ने प्रतिबद्धता जनाइए पनि कामले गति लिन नसकेको वडाध्यक्ष प्रधानले बताउनुभयो । गत वर्ष साउनमा काठमाडौँको ‘मोतीदान कन्स्ट्रक्सन सेवा प्रालि’ले निर्माणको जिम्मा पाएको थियो । २५ मिटर चौडा चार लेनको उक्त सडक दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् । विसं २०७९ चैतदेखि निर्माण थालिएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडक जीर्ण छ । यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि निर्माण कम्पनीको ढिलासुस्तीले उक्त सडक आयोजनाले गति लिन सकेको छैन । पोखरा महानगरपालिकाको सडक शाखाका इञ्जिनीयर नवीन गौतमले केही समयअघि कामै रोकेको ठेकेदार कम्पनीले पुनः अहिले जनशक्ति र उपकरण थपेर काम अघि बढाएको जानकारी दिनुभयो । सो सडक समयमा नबन्दा पोखरादेखि लमजुङ हुँदै मनाङसम्म जाने यात्रुलाई सास्ती भएको छ । बेगनासदेखि कास्कीको रुपमा गाउँपालिकासम्मको सडक पनि जीर्ण छ । तालचोक–बेगनाश विश्व बैंकको सहुलियत ऋण सहयोगमा ३.२८ किमिको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी’ले निर्माणको जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरु भएको थियो । फुट ट्र्याक, साइकल लेन र पार्किङसहितको नमुना सडक बन्ने उहाँको भनाइ छ । सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार बनाउने योजना छ । सडकमा तीनवटा पुल पनि बनाइने छन् । अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनीयर गौतमले बताउनुभयो । महानगरको गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 26 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 15 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 29 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि