प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनपछि आएको परिणामले नेपाली काँग्रेसभित्र नेतृत्व, संगठन र भविष्यको रणनीतिबारे गम्भीर बहस सुरु भएको छ । कमजोर चुनावी प्रदर्शनपछि पार्टीका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन सक्ने चर्चा राजनीतिक वृत्तमा फैलिएको छ । यही विषयलाई लिएर काँग्रेसभित्र विभिन्न धारणा सार्वजनिक हुन थालेका छन् र पार्टीभित्रको शक्ति सन्तुलनबारे पनि प्रश्न उठ्न थालेको छ ।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरी राजीनामाबारे आफ्नो धारणा राखेका थिए । तर उपसभापति शर्माले अहिले राजीनामा दिने समय नभएको भन्दै नेतृत्वले जिम्मेवारी लिएर पार्टीलाई अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए । उनले चुनावी हारपछि नेतृत्व परिवर्तनभन्दा पनि संगठनलाई सम्हाल्ने र कार्यकर्तालाई एकताबद्ध बनाउने काम प्राथमिक हुनुपर्ने सुझाव थापालाई दिएको बताइएको छ ।
त्यस्तै काँग्रेसका नेता चन्द्र भण्डारीले पनि वर्तमान परिस्थितिमा नेतृत्वले राजीनामा दिनु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् । उनले अहिले नैतिकताको नाममा पद छाड्नेभन्दा पनि पार्टीलाई जोगाउने र संगठनलाई पुनः सुदृढ बनाउने समय भएको बताउदै नेतृत्व भागेर होइन, समस्याको समाधान खोजेर संगठन बलियो बनाउनुपर्ने बताएका छन् ।
अर्कोतर्फ निर्वाचन परिणाम काँग्रेसका लागि ठूलो धक्का बनेको छ । प्रत्यक्षतर्फ १६५ सिटमध्ये काँग्रेसले जम्मा १८ सिट मात्रै जित्न सफल भएको छ भने समानुपातिकतर्फ १७ लाख मत प्राप्त गरेको छ । यस्तो परिणामले पार्टीभित्र गम्भीर समीक्षा र आत्ममूल्यांकनको आवश्यकता झन् बढाएको छ ।
यता पार्टीका पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरूले भने सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने दबाब दिन थालेका छन् । उनीहरूले चुनावी नतिजाको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने बताएकाछन् ।
तर थापा पक्षका नेताहरूले भने अहिलेको परिणामलाई मात्र वर्तमान नेतृत्वसँग जोडेर हेर्न नहुने तर्क गरेका छन् । उनीहरूका अनुसार पार्टीभित्र लामो समयदेखि रहेको गुटबन्दी, नीतिगत अस्पष्टता र संगठनात्मक कमजोरीहरूको प्रभाव अहिलेको परिणाममा देखिएको छ भने विशेष महाधिवेशन पछि आएको नेतृत्वले करिब एक सातामा उम्मेदवार छनौट देखि घोषणा पत्र बनाउने र चुनावमा होमिने काम गरेकाले समय नै नपुगेको विश्लेषण गरिएको छ । थापा नेतृत्वले धेरै समय नपाए पनि अन्तिम समयमा देशभर पार्टीलाई जनतामाझ मत माग्न सक्ने अवस्थामा पुर्याएको धेरैको विश्लेषण रहेको छ ।
यसैबीच, पूर्व सभापति शेरबहादुर देउवाको भूमिकालाई लिएर पनि पार्टीभित्र आलोचना र आरोपहरू सार्वजनिक हुन थालेका छन् । देउवा जस्तो परिपक्क नेता चुनावको महत्वपूर्ण समयमा सिंगापुरमा रहेको र मतदानसमेत गर्न नआएको विषय उठाउँदै अहिले भने सभापति थापाविरुद्ध आफ्ना समर्थक नेताहरूलाई सक्रिय बनाएको आरोप लगाएका छन् । उनीहरूका अनुसार चुनावको संवेदनशील समयमा पार्टी नेतृत्वसँगै रहेर रणनीति बनाउन देउवासहितका वरिष्ठ नेताहरू चुकेको देखिन्छ । विशेष महाधिवेशनको पक्षमा नरहेका नेताहरूले चुनावी अभियानमा देखाएको भूमिकामाथि पनि प्रश्न गर्ने प्रशस्त ठाउ छ । पार्टीभित्रका केही नेताहरूका अनुसार उम्मेदवार बनेका बाहेकका धेरै प्रभावशाली नेताहरू चुनावी अभियानमा सक्रिय देखिएनन् । देउवा पक्षका कैयौं नेताहरुले पार्टीका उम्मेदवारलाई हराउन अडियो सार्बजनिक हुन थालेको छ भने कैयौंलाई जिल्लाले कारवाहीको सिफारिस समेत गर्न थालेको छ ।
अर्कोतर्फ प्रकाशमान सिंह, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, शशांक कोइरालालगायत देउवा पक्षका केही वरिष्ठ नेताहरूले पार्टीको पक्षमा खुलेर मत माग्न नजाने र चुनावी प्रचारप्रसारमा सक्रिय नभएको देखिनुले उनीहरुको भूमिकामा पनि प्रश्न उठेको छ । केही विश्लेषकहरूका अनुसार यस्ता नेताहरूको निष्क्रियताले पनि पार्टीको समग्र चुनावी प्रदर्शनमा प्रभाव पारेको बताएका छन् ।
विश्लेषकहरूले काँग्रेसको अहिलेको संकट केवल चुनावी हार मात्र होइन, संगठनभित्रको गुटबन्दी, नेतृत्वबीचको अविश्वास र कार्यकर्ताबीचको निराशासँग पनि जोडिएको छ । अब चुनावको नतिजा समेत आएको अवस्थामा पार्टीले व्यापक आत्मसमीक्षा गर्दै संगठन सुधारको अभियान चलाउनु सहि निर्णय हुने सुझाव पनि दिइएको छ ।
धेरैले गगन थापाले राजीनामा दिने होइन काँग्रेसभित्र शुद्धीकरणको अभियान चलाउने, समयमा महाधिवेशन गर्न र विशेष महाधिवेशनमा पारित गरेको नीतिलाई कार्यान्वयनतर्फ लैजानुपर्ने सुझाव दिएका छन् । पार्टीका नीति र कार्यक्रमलाई स्पष्ट रूपमा जनतासम्म पुर्याउने, असन्तुष्ट नेता–कार्यकर्तालाई प्रशिक्षण दिएर पार्टीको लक्ष्य र उद्देश्यबारे स्पष्टता दिने तथा सामूहिक नेतृत्वको अभ्यासलाई तल्लो तहसम्म महसुस हुने गरी लागू गर्ने काम प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ । यसका साथै पार्टी सञ्चालनमा पारदर्शिता बढाउने, प्रविधिको प्रयोग विस्तार गर्ने र संगठनलाई आधुनिक ढाँचामा रूपान्तरण गर्ने विषय पनि महत्वपूर्ण मानिएको छ ।
निष्कर्षमा, गगन थापाले अहिले राजीनामा दिनेभन्दा पनि पार्टी सुधार र पुनर्गठनमा ध्यान दिनु उपयुक्त हुने सुझाव धेरैको छ । नैतिक रुपमा जिम्मेवारी लिने विषय स्वाभाविक नै मान्न सकिन्छ तर कठिन समयमा नेतृत्व छोडेर पार्टीलाई अझ संकटतिर पठाउनु बुद्धिमानीपूर्ण निर्णय हुदैन । चुनावी हारको पीडाबाट बाहिर निस्केर संगठनलाई पुनः जीवन्त बनाउने, निर्वाचित सांसदहरूलाई प्रभावकारी रूपमा संसदमा एजेण्डा उठाउन सक्षम बनाउने र अन्य दलभन्दा फरक पहिचान बनाउन सक्ने रणनीति तयार गर्नु काँग्रेस नेतृत्वको अहिलेको मुख्य कार्यभार हुन्, राजीनामा दिने त हुनसक्दैन ।








