उक्त आक्रमण अहिले पनि चलिरहेको छ। बिहीबारदेखि सुरु भएको यो युद्धबारे पछिल्लो समय हताहतीको विवरण पनि आउन थालेका छन्।

यद्यपि अहिले युद्ध जारी रहेकाले यस विषयमा सत्यतथ्य जानकारी भने आउन बाँकी छ। युक्रेनले बिहीबार आफ्ना नागरिक र सैनिकसहित १३७ जनाको मृत्यु भएको बताएको छ। साथै उसले ८०० रुसी सैनिक मारिएको दाबी गरेको छ।

रुसले युक्रेनका सेनालाई आत्मसमर्पण गरेर घर फर्किन चेतावनी दिएको छ भने युक्रेनले आफू एक्लैले यो युद्ध जित्ने दाबी गर्दै आएको छ। यहाँ युद्ध सुरु भएयताका केही महत्वपूर्ण घटनाहरु उल्लेख छ– 

बिहीबार रुसले आक्रमण सुरु भएयता युक्रेनका धेरै स्थानमा विस्फोट गराइसकेको छ भने धेरै स्थानलाई आफ्नो कब्जामा पनि लिइसकेको छ।

रुसी सेनाले कब्जामा लिएकोमध्ये सबैभन्दा महत्वपूर्ण स्थान चेर्नाबिल आणविक भट्टी हो। यो रुसको लागि ठूलो उपलब्धि नभए पनि यसले युक्रेनको राजधानी सहर किभका लागि रुसको बाटो खुल्नेछ। 

युक्रेनको राजधानी सहर किभमा पनि निरन्तर रुसले आक्रमण गरिरहेको छ। किभस्थित युक्रेनको सैन्य मुख्यालयमा पनि मिसाइल आक्रमण भएको छ। 

युक्रेनको बोरिस्पिल विमानस्थलमा पनि रुसले मिसाइल आक्रमण गरेको छ भने यहाँ गोलाबारीको आवाज पनि सुनिएको थियो। 

युक्रेनको उत्तरस्थित सेन्किभामा बेलारुसको सीमाबाट सैन्य ट्यांक आएका थिए। रुसको सीमा क्षेत्र नजिकैको सुमीमा पनि केही विस्फोटहरू सुनिएका छन् भने खर्किभमा रुसी सेनाले सीमा पार गरेका छन् र केही विस्फोटको आवाज पनि सुनिएको छ।

 

डीनिप्रोस्थित युक्रेनको सैन्य क्याम्पमा रुसले मिसाइल आक्रमण गरेको छ। कामातोस्रकमा मा विस्फोटका आवाजहरू सुनिँदा युक्रेनको नियन्त्रणमा रहेको सचास्त्य सहरमा रुसले कब्जा जमाएको छ। 

लुहान्स्कमा युक्रेनले पाँच रुसी सेनाको विमान खसालेको दाबी गरेको छ। डेनेट्स्कमा पनि आक्रमणमा हताहती भएको छ।

क्रिमियानजिकैको क्षेत्रमा पनि मिसाइल आक्रमणमा केही मानिसको मृत्यु भएको छ। कार्खोभामा रुसले पावर प्लान्ट आफ्नो नियन्त्रणमा लिएको छ। 

युक्रेनको जेमिनी टापुमा रुसी सेनाको प्रतिकार गर्ने गर्ने १३ युक्रेनी सेना मारिएका छन्। ओडेसामा पनि केही विस्फोट भएका छन्। 

युक्रेनको दक्षिणतर्फ रहेको मोल्डोभा, इभानो फ्रान्किस्भर, लभिभमा पनि मिसाइल आक्रमण भएका छन्।

अहिले युद्ध जारी रहेको कारण अहिलेसम्म क्षतिको विस्तृत विवरण आइसकेको छैन। यद्यपि केही स्थानमा भएको क्षतिबारे भने थोरै जानकारी आउन थालेको छ।