वीरगंज, २० फागुन । नेपाली कांग्रेस, पर्साको १४ औं महाधिवेशन बिहीबार सम्पन्न भएको छ । जसको सभापतिमा संस्थापन पक्षका उम्मेदवार जनार्दन सिंह क्षेत्री सम्पूर्ण प्यानलसहित विजयी भएका छन् । जिल्लामा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पदाधिकारी तर्फको अन्तिम मत परिणाम सार्वजनिक हुँदा क्षेत्री आफ्नो प्यानलसहित ठूलो मतान्तरले विजयी भएका हुन् । संस्थापन पक्षबाट जिल्ला विकास समिति, पर्सा का पूर्व जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र अर्को पक्षबाट निवर्तमान जिल्ला सचिव श्याम प्रसाद पटेल आफ्नो प्यानलसहित चुनावी प्रतिश्पर्धामा उत्रेका थिए । सिंह १३ औँ जिल्ला अधिवेशनमा निवर्तमान सभापति अजय द्विवेदीसँग पराजित भएका थिए । निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीका अनुसार जिल्ला सभापतिमा क्षेत्री ४ सय ६५ मतले विजयी भएका छन् । सिंहले १ हजार १ सय १० मत ल्याउँदा पटेलले केवल ६ सय ४५ मत ल्याएका छन् । सिंहलाई क्षेत्र नम्बर १ बाट ११९, क्षेत्र नम्बर २ बाट २२३, क्षेत्र नम्बर ३ बाट ३७७ र क्षेत्र नम्बर ४ बाट ३९१ मत प्राप्त भएको छ । जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता विजयी भएका छन् । क्षेत्रीकै प्यानलबाट उम्मेदवारी दिएका कुर्मीले १ हजार २ सय ३५ र गुप्ताले १ हजार १ सय २ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिवमा इम्तियाज आलम १ हजार १ सय ८७ र दिनेश कुमार चौधरी १ हजार १ सय ५९ मत ल्याएर विजयी भएका छन् । त्यस्तै सह-सचिवमा नविन सिंहले १ हजार २ सय ५३ र मदन राउत अहिर १ हजार १ सय ११ ल्याएर विजयी भएका छन् । सिंहले जिल्लामा संस्थापन पक्षका तिन ठूला नेता केन्द्रीय सदस्य द्वय रमेश रिजाल, अजय चौरसिया र पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको साथ पाएका थिए भने पटेलसँग अर्को पक्षका निवर्तमान जिल्ला अध्यक्ष अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको साथ थियो । त्यस्तै क्षेत्रीले अर्का सभापतिका उम्मेदवार रामनारायण कुर्मीलाई कन्भिन्स गरेर उप-सभापतिमा लड्न लगाएका थिए । कुर्मीपनि क्षेत्रीको प्यानलबाट उम्मेदवार बन्दा इतर समूह झन् कम्जोर बनेको थियो । यता, जिल्लाको ४ वटा क्षेत्रका १४ वटै स्थानीय तहमध्ये अधिकतममा पनि संस्थापन पक्षले नै पकड़ बनाएको थियो । मतपरिणाम पश्चात नव निर्वाचित सभापति सिंहले पार्टीलाई एक ढिक्का बनाएर पर्सा जिल्लालाई पुन: काङ्ग्रेसको गढ बनाउनु आफ्नो प्रमुख एजेण्डा रहने बताएका छन् ।