बीरगंज, २३ फागुन । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा हार्डवेयर पार्टसहरू कन्टेनरमालोड गरी काठमाण्डौ लादै गरेको अवस्थामा विशेष सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको टोलीले आईतबार साँझ करिब ०५:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थित सडकखण्डमा ना.६ ख. ९९९५ नम्बरको मालवाहक कन्टेनर रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा हार्डवेयर पार्टसहरू फेला परेको हुँदा उक्त कन्टेनर तथा चालकलाई नियन्त्रणमा लिई रू. ४० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

यसैगरी विल विजक भन्दा बढी लत्ताकपडा, जुत्ता तथा खुद्रा मालबस्तुहरू ट्रकमालोड गरी रुपनदेही तर्फ लादै गरेको अवस्थामा विशेष सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको टोलीले सोमबार राति करिब ०१:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर चोक स्थित सडक खण्डमा ना.३ ख. ३९४४ मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका लत्ताकपडा, जुत्ता तथा खुद्रा सामानहरू फेला परेको हुँदा उक्त ट्रक तथा चालकलाई नियन्त्रणमा लिई रू. ५० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि सोमबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीका का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन्