गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल र उपाध्यक्ष फुलमती देवी चौधरीबीच आइतबार विवाद हुँदा कुटाकुट भएको हो।
मंगलबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी गाउँपालिका उपाध्यक्ष चौधरीले आफ्ना मान्छे लगाएर अध्यक्ष जैसवालले कुटपिट गरेको आरोप लगाइन्। गत आइतबार गाउँपालिका कार्यालयमा जानकारी लिनको लागि अध्यक्षको कार्यकक्षमा पुग्दा विवाद भएको र आफू आफ्नो कार्यकक्षमा भएको बेलामा अध्यक्ष जैसवालका मानिसहरुले आफूमाथि दुर्व्यवहार गर्दै कुटपिट गरेको पत्रकार सम्मेलनमा उनले बताइन्।
विवाद हुँदा मलाई मेरै कार्यकक्षमा अध्यक्षका मानिसहरुले दुर्व्यवहारसहित कुटपिट गरेर घाइते पनि बनाए,’ उनले भनिन्, ‘कुटपिट गर्नेहरु अध्यक्षकै मानिसहरु हुन्। सुनियोजित तरिकाले नै ममाथि कुटपिट भएको छ।’
गाउँपालिकाको गाउँसभाको बारेमा बुझ्नको लागि अध्यक्षको कार्यकक्षमा गएको बेलामा विवाद गरेर आफूलाई दुर्व्यवहार गर्दै कोठामा समेत थुनिएको चौधरीले दाबी गरिन्। प्रहरी प्रशासन आएर आफूलाई कोठाबाट निकालेर उद्धार गरेको उनको भनाइ छ।
कुटपिटबाट घाइते भएपछि वीरगञ्जमा उपचारसमेत गराएको उनले बताइन्। पहिलेदेखि नै गाउँपालिका अध्यक्ष जैसवालले एकलौटी तरिकाले मनोमानी रुपमा गाउँपालिका सञ्चालन गरी भ्रष्टाचार गर्दै आएको चौधरीको आरोप छ।







