अमेरिकी नागरिक डेभिड बेनेटको मृत्यु भएको छ । सुँगुरको मुटु प्रत्यारोपणमार्फत प्राप्त गरेको दुई महिनापछि उनको मंगलबार अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मृत्यु भएको हो ।

मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जारी गरेको वक्तव्यअनुसार केही दिनदेखि बेनेटको स्वास्थ्य अवस्था खस्किएको थियो । अस्पतालले बेनेटको मृत्युको ठोस कारण भने सार्वजनिक गरेको छैन ।

बेनेटको शल्यक्रियामा संलग्न बाल्टिमोर अस्पतालका चिकित्सक डा. बार्टली ग्रिफिथले भनेका छन्, ‘बेनेटको निधनले हामी मर्माहत भएका छौं । उहाँ एक साहसी र भद्र बिरामी हुनुहुन्थ्यो । जो जीवनको अन्त्यसम्म पनि लडिरहनुभयो ।’बेनेटका छोरा डेभिड बेनेट जुनियरले अपरेसनले काम गर्दैन भन्ने थाहा भए पनि बुवाले चिकित्सा क्षेत्रमा नयाँ खोजमा सहयोग पुर्‍याउन तयार भएको बताएका छन् ।