दीपेन्द्र प्रजापति/कालो झोला ।
बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा रोग र छाला रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। शिविरबाट कुल ३ सय ६६ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

कार्यक्रममा कोल्हवी नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेशनल मेडिकल कलेज, वीरगञ्जको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रज किशोर चौधरी, डा. बनारसी लाल कसारी MDGP, डा. सन्तोष झा स्त्री तथा प्रसूति रोग विशेषज्ञ , डा. ओमप्रकाश अर्थोपेडिक विशेषज्ञ तथा डा. नीलमणि प्रियदर्शी छाला रोग विशेषज्ञ, कलेजका प्रेस सलाहकार आशिक अंसारी लगायतको सक्रिय सहभागिता रहेको थियो ।

यस अवसरमा कोल्हवी नगरपालिका र नेशनल मेडिकल कलेज, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त सम्झौतामा नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान तथा कोल्हवी नगरपालिकाको तर्फबाट नगर प्रमुख रामप्रसाद चौधरी ले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौताअनुसार कोल्हवी नगरपालिकाका नागरिकहरूले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट सुविधा प्राप्त गर्नेछन् ।

साथै, नियमित निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम तथा अन्य सामुदायिक स्वास्थ्य गतिविधिहरू सञ्चालन गर्न दुवै पक्षबीच सहकार्य गरिनेछ ।
सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकसम्म” भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय नागरिकहरूको स्वास्थ्य पहुँच अभिवृद्धि गर्नुका साथै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।









