दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगन्ज, २६ असार । वीरगन्ज महानगरपालिकामा जारी सडक विस्तारका कारण मुख्य सडकका नालाहरू जाम हुँदा शुक्रबार राति परेको वर्षाले सहरका विभिन्न चोकहरू जलमग्न भएका छन् । सडक विस्तारका क्रममा घरहरू भत्काउँदा निस्किएको भग्नावशेष (मलबा) बेलैमा व्यवस्थापन हुन नसक्दा महानगरका मुडली, त्रिमुर्ती चोक, छपकैया इदगाह चोक र पिपरा चोक लगायतका क्षेत्रहरू डुबानमा परेका हुन् ।
वर्षाको पानी जमेर सहरका मुख्य चोकहरू नै थुनिएपछि महानगरपालिकाले शुक्रबार बिहानैदेखि पानी निकासका लागि ‘एक्सन टिम’ परिचालन गरेको छ । एक्सन टिमका संयोजक सरफुदिन मियाको नेतृत्वमा प्राविधिक तथा सफाइकर्मीको टोली यतिबेला स्थलगत रूपमा खटिएको छ। पानी खुलाउनका लागि महानगरले तीन वटा एक्साभेटर, आधा दर्जन ट्याक्टर र एक दर्जनभन्दा बढी सफाइकर्मी प्रयोग गरेर नाला खोतल्ने कार्य गरिरहेको छ ।

एक्सन टिमका संयोजक सरफुदिन मियाका अनुसार सडक विस्तारका क्रममा घरहरू तोडफोड गर्दा निस्किएका ढुङ्गा, इँटा र माटोका गेग्रानहरू नालामा जम्मा भएका कारण यो समस्या निम्तिएको हो । सहरका अधिकांश नालाहरूमा घरका मलबाहरू थुप्रिएर जाम भएकाले रातिको वर्षाको पानी निकास हुन नसकेको बताउँदै संयोजक मियाले नागरिकलाई राहत दिन र यो समस्यालाई यथाशीघ्र समाधान गर्न आफ्नो टोली निरन्तर लागिपरेको जानकारी दिए ।
सडक विस्तारका क्रममा घरहरू भत्काइएपछि निस्किएको मलबा र सडकमा लथालिङ्ग अवस्थामा छरिएका बिजुली तथा इन्टरनेटका तारका कारण यतिबेला वीरगन्ज सहर निकै अस्तव्यस्त बनेको छ । नाला जाम र हिलोका कारण स्थानीय बासिन्दा तथा सर्वसाधारण यात्रुहरूले निकै सास्ती भोग्नुपरेको छ। महानगरपालिकाले भने नाला सफाइ गरेर पानी सहज रूपमा बगाउने काम भइरहेको र सहरलाई सामान्य अवस्थामा फर्काउन प्रयासरत रहेको जनाएको छ ।







