नेपालले ओमानलाई ७८ रनमै अलआउट पारेपछि ३९ रनको जित हासिल गरेको हो ।आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ११७ रनमै सीमित हुँदा धेरैलाई पराजयको डर थियो । तर, सानो योगफल रक्षा गरी नेपालले विजयी सुरुवात गर्दा बलिङ पक्षको प्रदर्शन प्रशंसायोग्य छ ।
नियमित र अनुभवी बलरद्वय सोमपाल कामी र करण केसीको अभाव हुन नदिन युवा स्टार कमलसिंह ऐरी र ६ वर्षपछि पुनरागमन गरेका टिमका ‘योर्कर किङ’ जितेन्द्र मुखियाले ओमानको अल अमेरात रंगशालामा आफ्नो प्रभाव देखाए । दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ‘डाइरेक्ट हिट’मार्फत् विष्फोटक ब्याटर जतिन्दर सिंहलाई रनआउट गरेपछि ओमानले पावर प्ले (६ ओभर)मा २५ रन बनाउँदा ३ शीर्ष ब्याटर गुमाइसकेको थियो ।
राष्ट्रिय टोलीका पूर्वप्रमुख प्रशिक्षक जगत टमाटा छैटौं ओभरमा प्राप्त यो सफलता नै जितको ‘टर्निङ प्वाइन्ट’ मान्छन् । ‘जतिन्दर सिंह राम्रो लयमा रहेका मुख्य ब्याटर थिए । मेरो विचारमा दीपेन्द्रले डाइरेक्ट हिटमार्फत् जतिन्दरलाई जसरी आउट गरे, त्यसले खेल पूर्णतः हाम्रो नियन्त्रणमा आयो,’ खेलको समीक्षा गर्दै प्रशिक्षक टमाटाले अनलाइनखबरसँग भने ।
कप्तान सन्दीप लामिछानेले पनि दीपेन्द्रको रनआउटलाई खेलको महत्त्वपूर्ण पक्ष भएको बताए । खेलपछि आधिकारिक प्रशारण च्यानलसँगको कुराकानीमा उनले भने, ‘यति स्कोर रक्षा गर्नु भनेको हाम्रो पराजित नहुने भावनाको कारक थियो । फिल्डमा सबैले उत्कृष्ट प्रदर्शन गरे । आरिङको ब्याटिङ र बलिङमा सुरुवातदेखिको सफलता महत्त्वपूर्ण थियो । दीपेन्द्रले जतिन्दरलाई रनआउट गर्नु पनि खेलको अर्को महत्त्वपूर्ण पक्ष हो ।’







