फाल्गुन ११, २०७८। पुस दोस्रो साताबाट सुरु भएको कोभिडको तेस्रो लहरको २ महिनाको अवधिमा १ लाख ४७ हजार ३ सय ७५ जनामा संक्रमण देखिएको छ । यो बीचमा ३ सय ३१ जनाको मृत्यु भएको छ । यो लहरमा २० वर्ष मुनिका २ जनाको ज्यान गएको छ । यसैगरी २० देखि ६० वर्षभित्रका १ सय १८ र ६० वर्ष माथिका २ सय ११ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य मन्त्रालयको छ । कोभिडको तेस्रो लहरमा मृत्यु हुनेहरुमा धेरैजसो दीर्घरोग भएकाहरु छन् । कोभिड युनिफाइड केन्द्रीय अस्तालमा तेस्रो लहर सुरु भएयता ७० जनाको मृत्यु भएकोमा ९० प्रतिशत त दीर्घ रोग भएकाहरु छन् । यो अस्पतालमा मृत्यु भएकाहमध्ये ६१ प्रतिशतले खोप लगाएका थिएनन् । यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो लहरमा करिब १ सय जनाको मृत्यु भएको छ । जसमा ९० प्रतिशतभन्दा बढि दीर्घ रोग भएकाहरु थिए । त्रिवि शिक्षण अस्पतालमा ४८ जनाको मृत्यु भएकोमा ८० प्रतिशत दीर्घ रोग भएका थिए । यी मध्ये ६० प्रतिशतले खोप लगाएका थिएनन् ।
कोभिड संक्रमण दर कम भएको छ । माघ ८ गते ५६ दशमलव ८ प्रतिशतमा पुगेको संक्रमण दर अहिले ५ प्रतिशतको हाराहारीमा छ । अस्पतालमा बिरामीसमेत घटेका छन् । अहिले देशैभर १ सय १५ जनाको आइसीयु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तर पनि संक्रमण भने समाप्त भएको छैन ।
नेपालमा ४ करोड ७८ लाख ८२ हजार ८ सय खोप आएकोमा ३ करोड ७१ लाख २१ हजार १ सय ९६ मात्रा प्रयोग भइसकेको छ । कुल जनसंख्याको ७३ दशमलव ४ प्रतिशतले खोपको एक मात्रा र ६० दशमलव ९ प्रतिशले खोपको पूर्ण मात्रा पाएका छन् ।







