दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १८ वैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित आरोग्य वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामुदायिक संस्था सानो पाइलाको आयोजना, राउण्ड टेबल नेपालको प्रायोजन र ईम्प्रुभिङ्ग वीरगञ्जसँगको सहकार्यमा वीरगञ्जस्थित माईस्थान पार्कमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको हो । बिहान ०७:३० बजेबाट सुरु भएको शिविर बिहान १०:३० बजेसम्म जारी रह्यो ।

शिविरमा पेट तथा लिभर रोग विशेषज्ञ – डा. राकेश कुमार झा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ – डा. अस्मिता उपाध्याय द्विेदी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ – डा. रन्जन कुमार झा, फिजिसियन – डा. सरोज रोशन दास, दन्त रोग विशेषज्ञ – डा. राजेश स्वर्णकार र मेडिकल अफिसर – डा. भुनेश कुमार बादललगायतका विशेषज्ञ चिकित्सकहरुको टोलिले उपचार सेवा प्रवाह गर्नुभएको थियो ।

शिविरबाट १ सय ८१ जना बिरामीहरुले चिकित्सकीय परार्मश लिनुभएको छ । शिविरमा नसर्ने रोगका बिरामीहरु सबभन्दा बढी आउनुभएको थियो । शिविरमा आउनुभएका सबै बिरामीहरुलाई चिकित्सकीय परामर्शसँगै औषधी समेत व्यवस्थापन गरिएको थियो । नेशनल हेल्थकेयरको सहयोगबाट प्राप्त हुन आएको औषधीहरु बिरामीहरुलाई निःशुल्क रुपमा बाँडिएको थियो । शिविरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका विद्यार्थीहरुको प्राविधीक सहयोग रहेको थियो ।

हाम्रो समुदायको ठूलो हिस्सा अहिले पनि स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर छ । सहज सेवा प्रवाह नहुँदा कतिपयले आफ्नो स्वास्थ्यप्रति पर्याप्त चासो दिन सकिरहेका छैनन् । कयौंले आर्थिक अवस्था कमजोर हुँदा आफ्नो स्वास्थ्यको ख्याल राख्न सकेका छैनन्। यो अवस्थाबाट यहाँको समुदाय पनि अछुतो छैन । यसै अवस्थालाई मध्यनजर गर्दै आरोग्यः वृहत स्वास्थ्य शिविर आयोजना गरेका हौं । यस कार्यक्रममा संस्करणहरु जिल्लाका ग्रामीण भेगमा पनि सञ्चालन गरिने योजना छ ।

यहाँको समुदायको स्वास्थ्यसँग सम्बन्धित आवश्यकता र चाहना पनि स्वास्थ्य सेवाको सहज उपलब्धता नै हो । समुदायको आवश्यकता र चाहना हामीले पनि बोध गरेकै छौं ।

यो समुदायका लागि समुदायकै अभियान हो ।