दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०३ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइ अनाधिकृत रूपमा भन्डारण गरेको स्थान बाट छापा मारी आफ्नो नियन्त्रणमा लिएको छ ।

शनिबार त्यहाँ बाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा दिउँसो १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ३२, वदननगर बस्ने मनोज साहको घरमा कोठा भाडामा लिइ भारतको विहार राज्य, पूर्वी चम्पारण, बिसुनपुर पोष्ट अमवा बिसुनपुर बस्ने वर्ष ३३ को मनोज कुमारको कोठा कानूनी रीत पुर्‍याई खान तलासी गर्दा उक्त कोठा बाट Apple को मोबाईल २ थान, Redmi ७ थान, Oppo ९ थान, Vivo १० थान, One plus २ थान, Samsung १३ थान, Realmi २ थान, Techno १० थान, Techno Pova १ थान, Itel १ थान, Techno Cammon १ थान, Poco १ थान गरी जम्मा ५९ थान मोबाईल र Titan घडी १ सय १४ पिस, Sonata घडी ५ पिस, Hilfiger १२ पिस, Fast Tack ५४ पीस गरी जम्मा १ सय ८५ पिस घडी समेत गरि जम्मा रू.१९ लाख १४ हजार बराबरको घडी तथा मोबाईलहरू सहित निज मनोज कुमारलाई आवश्यक कारवाहीको लागि आईतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।