काठमाडौँ, १ असोज । हरितालिका तिजको अवसरमा आज देश तथा विदेशमा हरितालिका तीज अटल सौभाग्यका कामना गरी भव्यताका साथ मनाइँदैछ । विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ ।
अविवाहित युवायुवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरेर भगवान महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । सत्ययुगमा आजैको दिन कठोर व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीज पर्वको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा महिला भक्तजनहरुको चहलपहल बढेको छ ।
यसैबिच, काठमाडौँ महानगरपालिका वडा नं. ७ मा मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षणा तथा विकास समाजले “हरितालिका तीज विशेष नाचगान कार्यक्रम मैजुवहालस्थित शहिद स्मृती सामुदायिक भवन, ग्राउण्ड फ्लोरमा आयोजना गर्ने भएको छ । सो कार्यक्रममा सम्पूर्ण दिदिबहिनी आमा फूपू नन्द देउरानी जेठानी माइजुलगायत सबै महिलाहरूलाई सहभागिता जनाउनका लागि मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षणा तथा विकास समाजकी अध्यक्ष तथा कार्यक्रम संयोजक निर्मला पुडासैनीले अनुरोध गर्नुभएको छ ।