ग्रिसको चियोस टापुको चट्टानी उत्तरपश्चिमी तटमा आप्रवासी डुङ्गा पल्टिँदा त्यसमा सवार कम्तीमा तीन बालिकाको मृत्यु भएको तटरक्षकहरूले बुधबार बताएका छन् । खोज र उद्धार कार्य जारी रहेको बताइएको छ । मृतक बालिकाहरूकी आमाले पाँच, सात र १० वर्षका छोरीहरू बेपत्ता भएको पुष्टि गर्नुभएको ग्रिक तटरक्षकले बताएका छन् । टर्कीबाट रातारात उडेका नौसेनाका तीन जहाजले डुङ्गामा सवार आठ नाबालिग र डुबेका बालिकाहरूकी आमासहित १९ आप्रवासीलाई उद्धार गरेका छन् । डुङ्गामा कति सवार थिए भन्नेबारे अधिकारीहरूले स्पष्ट नभएको बताएका छन् । यद्यपि सार्वजनिक प्रसारक इआरटीले डुङ्गामा मुख्यरूपमा अफगानसहित २७ जना सवार रहेको बताएको छ । रातको समयमा चियोस तटमा पौडन सफल तीन अफगानले अधिकारीहरूलाई सतर्क गराएको इआरटीले जनाएको छ । युरोपेली सङ्घ (इयु) सम्म पुग्न खोज्ने आप्रवासीहरूका उत्तरपूर्वी एजियन सागरमा रहेको चियोस टापु एउटा प्रवेशद्वार हो । शरणार्थीहरूका लागि उच्चायुक्त कार्यालयका अनुसार यस वर्षको प्रारम्भदेखि ग्रिक टापुहरूमा ११ हजार तीन सयभन्दा बढी आगमन रेकर्ड गरिएको छ । सन् २०२३ मा करिब ४५ हजार शरण खोज्नेहरू ग्रिस पुगेका थिए । यीमध्ये अधिकांश टर्कीएबाट नजिकका टापुहरूमा आएका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार यो चार वर्षमा सबैभन्दा धेरै सङ्ख्या थियो । सन् २०२३ जुनमा पाइलोसको तटमा डुङ्गा डुब्दा त्यसमा सवार ८२ मानिस डुबेका थिए भने सयौँ बेपत्ता भएका थिए । उक्त त्रासदीको धेरै अनुसन्धान अहिले पनि भइरहेको छ । केही गैरसरकारी संस्थाहरूले ग्रिक तटरक्षकहरूमाथि उनीहरूको सहायताका लागि आउन ढिलाइ गरेको आरोप लगाएका छन् ।