त्रिशूली (नुवाकोट), १६ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशमा रोजगारको सृजना र आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । राप्रपा नुवाकोटले आज विदुर नगरपालिका–४ बट्टारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका लोहनीले देशको अर्थतन्त्र सुधारको लागि युवा पुस्तालाई रोजगार र कृषि क्षेत्रमा संलग्न गराउने कार्यक्रम समावेश गर्नुपर्ने बताउनुभयो । आफू अर्थमन्त्री हुँदा आवश्यकताको आधारमा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिएको स्मरण गर्दै अबको दिनमा नयाँ उद्योग कल–कारखानाको स्थापना, कृषि उब्जनीको वृद्धि र पशुपालनबाट अर्थतन्त्रको सुधार गर्न सरोकार भएका निकाय जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “विगतमा भन्दा कृषि उब्जनीमा व्यापक सुधार भए पनि त्यसबाट आत्मनिर्भर बनाउन सकिएको छैन ।” पूर्वअर्थमन्त्री लोहनीले भन्नुभयो, “कृषिमा आधुनिकीकरण र यान्त्रीकरणको उपयोग, विशेष आर्थिक क्षेत्र (सेज) को निर्माण, स्वदेशमा सीपयुक्त शिक्षा दिएर युवालाई आर्थिक परिवर्तनमा जोड्नुपर्छ ।” राप्रपा केन्द्रीय महामन्त्री डा धवलशम्शेर राणाले ‘अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तनको लागि’ सडक आन्दोलनमा रहेको बताउनुभयो । मुलुकको आर्थिक सुधारका लागि भ्रष्टाचारमुक्त शासकीय व्यवस्थाको निर्माण गर्न राप्रपाले राजसंस्था, हिन्दूधर्म, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, प्रदेश संरचनाको परिवर्तनका लागि सङ्घर्षमा उत्रिएको उहाँको भनाइ छ ।