पाँचथर । ताप्लेजुङलाई रोक्दै झापाली टोली बिर्तामोड युनाइटेड क्लव फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

फिदिम खेल मैदानमा बिहीबार सम्पन्न प्रतियोगिताको अन्तिम सेमिफाइनलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवलाई २–१ ले रोक्दै बिर्तामोडले उपाधीका भिंडन्तका लागि मोरङको डाँगीहाट फुटवल क्लव (डीएफसी) सँगको भेट पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको सबै गोल पहिलो हाफमा भएका थिए । खेलमा अग्रता भने आठौं मिनेटमा दिपेश लिम्बूको गोलसँगै ताप्लेजुङले बनाएको थियो । तर, ३१ औं मिनेटमा ताप्लेजुङका डिफेन्डरले डि–एरियाभित्र ह्याण्ड गरेपछि बिर्तामोडले पाएको पेनाल्टिमा रोमन भुजेलले सहजै गोल गरे ।

पहिलो हाफकै इन्जुरी समयमा बिर्तामोडका प्रदीप बुढाथोकीले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुबै टोलीले केहि राम्रा अवशरहरु सिर्जना गरे पनि गोल गर्न सकेनन् । अन्ततः ताप्लेजुङले बिर्तामोडलाई २–१ को नतिजा सुम्पिनुप¥यो । खेलको अन्त्यतिर पानी पर्दा दुबैतर्फका खेलाडीले खुलेर खेल्न सकेनन् ।

खेलको म्यान अफ् दि म्याच झापाको प्रदीप बुढाथोकी बने । उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल मंसिर २३ गते हुने आयोजक पाँचथर फुटवल क्लवले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४४४ रुपैंयाँ र उपविजेताले नगद २ लाख २ हजार २२२ रुपैंयाँ प्राप्त गर्नेछन् ।