चन्द्रप्रकाश बानियाँ
गोत्र, थर र वंशबीचको अन्तर्सम्बन्धबारे राखिएको जिज्ञासाको जवाफमा विद्वान् साहित्यकार तथा राजनेता राजेश्वर देवकोटाले भन्नुभएको थियो– ‘गोत्रहरूको नामाकरण सुप्रशिद्ध ऋषिमुनिहरूको नामबाट भएको देखिन्छ । एउटै गोत्रमा एकभन्दा बढी थरहरू सामेल हुन्छन् । एउटा गोत्रभित्र जति थरहरू सामेल हुन्छन्, ती सबै गोत्रप्रवर्तक ऋषिका सन्तानहरू हुन् भन्ने मान्यता समाजमा रहेको छ अर्थात् गोत्र भनेको वंशको पर्यायवाची हो । त्यसैले गोत्र एउटै हुने थरहरू एकअर्कालाई गोत्रीय दाजुभाइ मान्ने र आपसमा बिहेवारी नचलाउने परम्परा अभ्यासमा छ । गोर्खा जिल्लाअन्तर्गत रहने बस्ने सबै भारद्वाज गोत्रीहरू एकै स्थानमा भेला भएर सगोलमा कुलपूजा गर्ने परम्परा बसालेका छौँ । फरक थर भए पनि गोत्रीय बन्धुहरूले अलग–अलग पूजा गर्नुभन्दा सगोलमा गर्नु राम्रो हुन्छ भन्ने लागेर मेरै पहलमा त्यस्तो परम्परा बसालिएको हो ।’
तपाईंको “गोत्र” के होला ? यो प्रश्नको सामना बेलामौका सबैले गर्नुपर्ने हुन्छ । स्वाहा र स्वधा दुवै कार्यमा गोत्रको प्रयोग हुने परम्परा भएको हुनाले सानाठूला सबैखाले यज्ञ अनुष्ठानको सन्दर्भमा पुरोहित पण्डितहरूले मावली, ससुराली समेतको गोत्र सोध्ने गर्छन् । तर धन्दा मान्नुपर्दैन, कथम् आफ्नो गोत्रको कुनै जानकारी छैन भने पनि पुरोहित पण्डाहरूले “अमुक अमुक गोत्र” अथवा “यथा यथा गोत्रस्य” भनेर काम चलाउँछन् । आखिर देवपितृ भोको नबसे भइहाल्यो । अभीष्ट पुण्यप्राप्ति हो । पण्डितजीहरूले त्यसको ठेक्का लिइदिएपछि किन टाउको दुखाइरहनु प¥यो र ? साँच्चिकै गोत्रप्रवरहरूको जानकारी छैन र यताउता कतैबाट दीर्घकालपर्यन्त जानकारी प्राप्त हुने सम्भावना पनि छैन भने “काश्यप” गोत्र अङ्गिकार गर्ने सुविधा छ । यो सुविधा खसहरूले पनि उपभोग गर्दै आएका छन् । वैदिक समाजले नै मनलागेको बेलामा गोत्र परिवर्तन गर्ने सुविधाको व्यवस्था गरेको हो अर्थात् कसैलाई आफ्नै परम्परागत गोत्रले कुनै अत्तो अप्ठेरोमा पारेको छ वा पार्ने सम्भावना छ भने गोत्र परिवर्तन गर्ने सुविधा प्राप्त छ । गोत्र भनेको स्वेच्छामा परिवर्तन गर्न सकिने व्यवस्था हो । पृथ्वीनारायण शाहका नाति श्री ५ रणबहादुर शाहले कान्तिमती नामकी तिरहुतीय (वैदिक) ब्राह्मणीसँग विवाह गर्नैका लागि आफ्नो गोत्र परिवर्तन गरेका थिए । त्यसको जीवित साक्षी हाम्रो इतिहास रहेको छ । बिहेपछि छोरीको गोत्र फेरिन्छ र प्रत्येक पटकको पुनर्विवाहपछि पनि महिलाको गोत्र फेरिँदै जान्छ ।

गोत्र एउटा त्यस्तो व्यवस्था हो, जसअन्तर्गत धेरै थरहरू समावेश हुनसक्छन् अर्थात् धेरै थरहरूको एउटा साझा गोत्र हुनसक्छ । भन्नका लागि त समाजमा गोत्रीय बन्धुलाई आफ्नै दाजुभाइजस्तो मान्नुपर्छ भनिन्छ । सगोत्रमा सोलीडोली पनि चल्दैन र दानदक्षिणा पनि लिनुदिनु हँुदैन भनिन्छ । पं. शिखरनाथले गोत्रप्रवरावलीमा त्यसै भन्छन्, नेपाली थर गोत्र प्रवर कोशमा श्रीहरि चापागाईं त्यसै भन्छन्, निर्णयसिन्धुले त्यसै भन्छ, जंगबहादुरको मुलुकी ऐनको व्यवस्थाले त्यसै भन्छ र हाम्रो सनातन परम्पराले पनि त्यसै भन्छ । तर त्यो भनाइ सजिलो परुञ्जेलको लागि मात्र हो । अप्ठेरो पर्दा ती नियमहरू मान्छेले सजिलै मिच्ने गरेका छन् र समाजले पनि त्यसलाई मान्यता दिएको पाइन्छ । यथार्थमा त्यस्ता भनाइ र मान्यताहरू “किताबको माछा पो नखानु, खोलाको माछा खानुमा के प्रदोष ?” भनेजस्तो मात्र हो । सगोत्रमा लिइने दिइने दानमा समाजले कडा बन्देज लगाउँदैन । अब त कन्यादान पनि एक प्रकारको दानै हो भनेर सगोत्रीय विवाहले पनि मान्यता पाउन थालेको छ । तर पनि समाजमा गोत्रको खोजी हुने चलन अझै पूर्णरुपमा समाप्त भइसकेको छैन ।

पछिल्लो कालखण्डतिर सबै थरगोत्रमा आफ्नो कुलगोत्रका बारेमा खोजीनीति गर्ने र वंशावली लेख्ने लहर नै चलेको छ । त्यस सन्दर्भमा, खासगरेर, ब्राह्मण समुदायमा जुन ऋषिको नाममा “गोत्र” चलेको छ, तिनै ऋषिलाई आदिपुरुष वा मूलपुरुष मानेर वंशावलीको टिपोट उतार्ने चलन बसालेको देखिन्छ । कैयौं थरहरूले कैयौं पुुस्ताको कृत्रिम नामावली खडा गर्ने र कसैकसैले भने पुस्ता मात्र गन्ने गरेको देखिन्छ । दुवै थरले छुटाउन नबिर्सने साझा कुरा के रहन्छ भने गोत्रप्रवर्तक ऋषिसम्म पुस्तावली अवश्य जोडिएको हुन्छ । उदाहरणका लागि “भृगु” गोत्र हुनेहरू सबै थरको वंशलहरो माथि–माथि चढ्दै गएर भृगु ऋषिमा टुङ्गिन्छ र आजको सबैभन्दा कान्छो पुस्तादेखि भृगुसम्म अब्बलमा २००÷३०० पुस्ताभन्दा पर जाँदैन । धर्मशास्त्रहरूले ब्रह्माजीको सृष्टिकाल करोडौं वर्ष पुरानो हो भनेर लेखेका छन् र भृगु स्वयं दोस्रो पुस्ताका मानिन्छन् । लाखौँ करोडौं वर्षअघि जन्मेका भृगु ऋषिसँग २००÷४०० पुस्ताले भेट्न सकिँदैन भन्ने गणितको सामान्यज्ञानको समेत वंशावली उतार्दा ख्याल नगरेको देखिन्छ । मानव समाज विकासको कथा पनि कमसेकम १० हजार वर्ष पुरानो रहेको मान्यता समाजशास्त्री÷नृतत्वशास्त्रीहरूको रहेको छ ।
आफूहरू पनि वैदिक समाज जत्तिकै संस्कारी ठहरिनका लागि बाह्रौंदेखि चौधौं शताब्दीसम्ममा अर्थात् आजभन्दा ६÷७ सय वर्ष अगाडि मात्र खसहरूले यज्ञोपवित “जनै” धारण गरेर आपसमा थरको पनि विभाजन गरेका हुन् । खसहरूका थरहरू तत्कालीन समयमा मानवबस्ती रहेका गाउँठाउँ, धार्मिक जिम्मेवारी र राजकीय पदहरूका आधारमा रहेका छन् । त्यसैले खस क्षत्री ब्राह्मणका थरहरूले वैदिक ब्राह्मण क्षत्रीहरूका थरसँग मेल खाँदैनन् । खस समाजले थरको जस्तै नयाँ व्यवस्था नगरेर गोत्र भने वैदिक समाजबाट जस्ताको तस्तै सापटी लिएको देखिन्छ । खसहरूले धर्म, संस्कार र थरगोत्र परिवर्तन गर्नुको कारण आफूलाई वैदिक आर्य समान देखाउनु थियो अर्थात् आफूलाई वैदिक आर्यको समकक्षको सामाजिक मान्यता दिलाउनु थियो । त्यसैले सर्लक्कै गोत्र सापट लिँदा वैदिक आर्यहरू गोत्रीया दाजुभाइ हुन् भनेर दाबी गर्ने आधार मिल्ने भएको हुनाले पनि त्यस्तो चलाखी गरिएको हुनसक्छ ।
सगोत्री बन्धुत्वको साइनो समाजबाट लोप हुने अवस्थाको संघारमै पुगेको छभन्दा फरक पर्दैन । सगोत्रमा दान लिनेदिने चलन त धेरै पुरानो भइसक्यो । अब त विवाहमा पनि गोत्रको खोजी हुन छोडिसक्यो । बिहेवारी सनातन भइसकेको भए पनि के साँच्चै सगोत्रमा विवाहवारी गर्नु अपराधै हो त भन्ने प्रश्न अवश्य सबैका मनमा उठ्ने गरेको हुनुपर्छ । निश्चितरुपमा सगोत्री विवाहलाई अपराधको कोटिमा राख्न मिल्दैन । गोत्रलाई वंश वा रक्तसम्बन्धसँग जोड्नु गलत हो । गोत्र उत्पत्तिको वास्तविकताको जानकारी नरहनु वा गोत्रव्यवस्थाको उत्पत्तिको अतिरञ्जनापूर्ण व्याख्या गर्ने पुरानो चलनको कारणले सिर्जना गरेको भ्रम हो त्यो । हिन्दूधर्मको आदिस्रोत ऋग्वेदमा गोत्रलाई गोष्ठको पर्यायवाची शब्दको रुपमा प्रयोग गरिएको दृष्टान्तबाट त्यो कुरा पुष्टि हुनजान्छ ।
अर्थात् “गोत्र” भनेको “गोष्ठ” हो र गोष्ठ भनेको गाईको सुरक्षाको निमित्त गरिएको व्यवस्था हो । अनुसन्धाताहरूले इसापूर्व १५००–१००० तिर आर्यहरू भारतवर्षमा प्रवेश गरेका हुन् भनेर मानेका छन् । जतिबेला उनीहरू सिन्धुघाँटी छिचोलेर पूर्वतर्फ लागे त्यतिबेलासम्म उनीहरूको सामाजिक विकासको अवस्था “पशुपालन युग”मै थियो । उनीहरू पशुआहाराको चाहारामा वनपर्वतहरू घुमिरहन्थे अर्थात् घुमन्ते जीवन बिताउँथे । उनीहरूको मुख्य व्यवसाय नै गाईपालन थियो । आर्यहरूको जीवन पूर्णतः गोधनमा आश्रित रहन्थ्यो । खेती, परिवहन, दूध घिउ आदि खाद्यवस्तुको लागि मात्र होइन, वस्तु सटहीमा पनि गाईले मुद्राको काम गथ्र्यो । अजीगर्ति नाम गरेका एक जना मानिसले १०० गाई लिएर आफ्ना छोरा शुनशेपलाई बेचेको प्रसंग पनि हिन्दू धर्मग्रन्थहरूमा भेटिन्छ । राजर्षि विश्वामित्रका धर्मपुत्र बनेका तिनै शुनशेपका केही ऋचाहरू ऋग्वेदमा सामेल गरिएका छन् । चीजवस्तुहरू मात्र होइन, श्रीमती पनि गाई दिएर किनिन्थ्यो । त्यस्तो विवाहलाई “आर्ष विवाह पद्धति” भनिन्थ्यो अर्थात् आर्यसमाजका लागि गाई सर्वस्व थियो । त्यसैले गाईलाई “लक्ष्मी” भनेर पुकारिन थालेको हो । धन सम्पत्तिको पर्यायवाचीको रुपमा लक्ष्मीरुपी गाईको गणना हुने भएकैले व्यर्थमा धननाश गर्नु हुँदैन भन्ने अर्थमा गाई मास्न हुँदैन भनिएको हो । गाईलाई अवध्य मानिएको हो ।
वैदिककालमा आर्यसमाजको मूल धनको रुपमा “गाई” रहेको हुनाले गाईहरूको सुरक्षाको विशेष प्रबन्ध गरिन्थ्यो । एउटाले अर्को गाउँका वा गोठका गाईहरू चोर्ने, लुट्ने परम्परा थियो । महाभारतको विराट पर्वमा कौरवहरूले विराट राजाको गाईगोठ लुट्ने प्रयत्न गरेको कथा छ । ऋग्वेदमा स्वयम् देवराज इन्द्रको गाईगोठ पणिहरूबाट लुटिएको प्रसंग परेको छ । त्यसैले तत्कालीन समाजमा लुटेराबाट गाईगोठको सुरक्षा गर्नका निमित्त केही घरपरिवार, सिंगो गाउँवस्ती वा राज्यकै तर्फबाट समूह निर्माण गरेर साझा गाइगोठ बनाउने परम्परा बसालिएको हो । गाईको सुरक्षा र पालनपोषणका लागि आजभोलिको सहकारी संस्था जस्तै उतिबेला गोठहरू सञ्चालन हुन्थे । तिनलाई गोत्र भनिन्थ्यो र ती संस्थाहरूलाई कुनै सुन्दर नाम दिइन्थ्यो । त्यही सन्दर्भमा गोत्रहरूको नाम ऋषिमुनिको नामबाट रहन गएका हुन् । त्यस्तो चलनको उदाहरण यतिबेलाको समाजमा पनि प्रचलनमा छ । काठमाडौंको स्वयम्भूमा सञ्चालित “मनमोहन मेमोरियल टिचिङ्ग अस्पताल” यौटा सहकारी संस्था हो । त्यसमा १००० भन्दा बढी सेयर सदस्यहरू छन् । अनेक थरगोत्रका भिन्न–भिन्न सेयर सदस्यहरूको सगोलमा नाम लिनुपर्दा “मनमोहन हस्पिटलका सेयरबन्धु” भनिन्छ । हो त्यसै गरी भृगु, कश्यप, कपिल, भारद्वाज, मुद्गल आदि नाम गरिएका गाईगोठका अंशियारहरूलाई कालान्तरमा गोत्रीय बन्धुको रुपमा समाजले चिन्न थालेको हो । अथवा गोत्रप्रवर्तक मानिएका ऋषिहरूद्वारा स्थापित गोठहरूमा सामेल हुने सबै मानिसहरूको समान गोत्र रहन गएको हो ।
यदि गोत्रको आधार पुर्खा भइदिएका भए गोत्र बदल्न पाउने व्यवस्था गर्नै मिल्दैनथ्यो । पुर्खा भनेको पूर्वज हो र पूर्वजको सबैभन्दा नजिकको इकाइ पिता हो । बाबु पनि साटफेर गर्न मिल्छ र ? हो, जब जानी बुझीकन गोत्र बदल्न सकिने व्यवस्था गरिएको छ भने गोत्रप्रवर्तक भनिएका ऋषिमुनिहरू अमुक गोत्रका आदि पुरुष वा मूलपुरुष हुन् भनेर मान्नै मिल्दैन । गोत्र भनेको तत्कालीन समाजको आवश्यकताले जन्माएको एउटा नियम हो । एउटा विशुद्ध व्यावसायिक समूह हो । वंश र रगतसँग गोत्रको कुनै साइनो सम्बन्ध छैन । व्यावसायिक रुपमा आपसमा साझेदारी गर्ने सन्दर्भमै गोत्रको आविष्कार भएको हो । गोत्र भनेको कति टाढा वा कति नजिकको सम्बन्ध हो र गोत्रीय सम्बन्धको रक्त सम्बन्धको साइनो छ कि छैन भन्ने अन्योलमा रहनुपर्ने आवश्यकता देखिँदैन । गोत्र र वंश नितान्त फरक कुरा हो ।