दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं, २६ भदौ । राष्ट्रिय एकता अभियानले जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सुको आसन्न नेपाल भ्रमण बारे आशंका ब्यक्त गर्दै भ्रमणका क्रममा गोप्य भेटघाट वा अवाञ्छित गतिविधि नगर्न चेतावनी दिएको छ।

अभियानका अध्यक्ष विनय यादवले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता अबान्छित गतिविधि भए÷गरेको देखिएमा राष्ट्रिय एकता अभियानले सशक्त विरोध जनाउने जनाएका छन्।

“२०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाब मुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण हो’ विज्ञप्तिमा भनिएको छ–‘तर्सथ, उहाँहरूको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्छ भन्ने हाम्रो धारणा रहेको छ। त्यस्तै, उहाँहरूको सबै भेटघाट पुर्ण रूपले सरकारी अधिकारी र नागरिक समाजको प्रतिनिधि राखेर मात्र गर्न÷गराउन हुन आवश्यक रहेको पनि हाम्रो ठहर हो।“

लि नेपालको पाहुना भएर आउनु सुखद समाचार भएपनि समय र सन्दर्भ नमिल्दा अति बिशिस्ट पाहुनालाई पनि स्वागत गर्न नसकिने अवस्था बन्ने गरेको भन्दै अभियानले उनको भ्रमणको उदेश्यमाथि नै प्रश्न उठाएको छ । भ्रमणका क्रममा अघोषित चीनियाँ नाकाबन्दी र नेपाली भूमी अतिक्रमण सम्बन्धमा समेत ठोस समाधान खोज्न सम्बन्धित पक्षहरूसङ्ग अभियानले माग गरेको छ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली ६ जना वरिष्ठ मन्त्रीसहित करिब ९६ जनाको टोली लिएर भदौ २७ नेपाल भ्रमणमा आउन लागेका हुन । ली लाई चीनमा राष्ट्रपति सि चिनफिङ पछिको दोस्रो वरियताको नेता मानिन्छ ।