प्रस्तुति-
दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०३ मंसिर । छठ महापर्व को आफ्नो छुट्टै पहिचान र विशेषता रहेको छ । खास गरि तराई मधेस मा बढी महत्व भएको यस महापर्व लाई अचेल पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । यो महापर्व छठी मैया को पूजा-आराधनाका साथै सूर्यनारायणको उपासनासँग सम्बन्धित भएकोले प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी, षष्ठी र सप्तमी का दिन मनाउने गरिन्छ । यसमा विशेष रूपले भगवान् सूर्यको उपासना हुन्छ । यस महापर्व मा शुद्धताको बढी ध्यान दिनुपर्छ र छठपर्वको सामग्री तयार गरिन्छ । भारतीय संस्कृतिले ओतप्रोत भएका नेपाल, भारतलगायत दक्षिण एसियाका देशहरूमा यो पर्व धुमधामका साथ मनाइन्छ ।

यस पर्वमा छठी मैया को पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ भने पञ्चमीका दिनदेखि व्रत बसी षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट अर्थात् सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

नेपालको सन्दर्भमा तराई मधेस का प्रायः हिन्दु समुदायमा यसलाई बढी महत्त्वकासाथ मनाइन्छ । अचेल पहाडी समुदायले पनि यस पर्वलाई महत्त्व दिँदै सूर्यको उपासना गर्ने गरेको पाइन्छ । ‘आरोग्यं भास्करादिच्छेत्’ अर्थात् रोगव्याधिरहित जीवन प्राप्तिका लागि सूर्यको आराधना गर्नुपर्छ भन्ने शास्त्रवचन रहेकाले सबै वर्ग, जाति, भाषा, लिंगका मानवमात्रले यो पर्व मनाउनु पर्ने देखिन्छ । यो पर्व मनाउँदा शरीर निरोगी हुनुका साथै सबैको कल्याण हुने धार्मिक मान्यता रहेको छ ।

छठ महापर्व जहाँ मनाए पनि यसका विधि एवं शास्त्रीय पक्षहरू एकै प्रकारका रहन्छन् । धर्मशास्त्रको निर्देशनले नै छठ पर्व मनाएको पाइन्छ । कार्तिक शुक्ल चतुर्थी छठ प्रारम्भ हुन्छ। प्रथम दिन व्रतालुले स्नान गर्ने, शुद्ध एवं नयाँ कपडा लगाउने शाकाहरी भोजन गर्नुपर्ने जस्ता नियम पालना गरिन्छ । प्रथम दिनलाई स्थानि भाषामा ‘नहाय खाए’ नामले जनाइन्छ ।

कार्तिक शुक्ल पक्ष पञ्चमी अर्थात् दोस्रो दिन व्रतालुहरू विशेष उपवास बस्छन् । बेलुकीपख व्रतालु आफैंले खिर-रोटी पकाउँछन् । घरको पूजाकोठा वा शुद्ध, चोखो ठाउँमा लगेर केराको पातमा त्यो खिर-रोटी तथा फलफूलहरू चढाएर छठीमाईको पूजा गर्छन् । त्यो प्रसाद परिवारमा वितरण गरी आफूले पनि लिन्छन् ।

छठ पर्वको मुख्य एवं आकर्षक दिन भनेको तेस्रो दिन अर्थात् षष्ठी तिथि हो । यस दिन साँझमा अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ दिइन्छ । स्थानीय भाषामा ‘सँझिया अरघ’ अर्थात् साँझमा दिइने अर्घ भनिन्छ । यस दिन व्रत बस्नेका घरका सबैले नयाँ लुगाकपडा लगाउँछन् । यस दिन पूजामा चाहिने आवश्यक सामग्री- फलफूल, नरिवल, केरा, स्याउ, सुन्तला र ठेकुवा, पुरी लगायत विशेष प्रसाद बनाएर नयाँ नाङ्लो, सुपो र बाँसको डालो (दउरा) राखेर मंगल गीतको साथ पुरुष-महिला सबै जलासय, नदी, पोखरी, तलाउ आदिको घाटतर्फ लाग्दछन् । केराको खम्बा, उखुको लाँक्रो आदि नदीकिनारमा गाडेर माटोको हात्ती त्यसको फेदमा राखेर आफ्नो क्षेत्र तय गर्दछन् । घाट वा जलाशयहरू आकर्षक रूपमा सजाइएको हुन्छ । व्रतालुहरु आ-आफ्ना छठ घाटहरूमा गएर अस्ताउँदो सूर्यतर्फ फर्किएर आधा शरीर पानीमा डुबाएर पूजा सामग्रीले सूर्यको पूजा गरी दूध एवं जलसहित सूर्यनारायणलाई अर्घ्य दिने गर्दछन् ।