काठमाडौँ, १७ असोज । जहरसिंपौवा युवा क्लबले दशैंको अवसर पारेर सर्वाधिक राशिको जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ । प्रतियोगिता असोज १९ गतेदेखि कार्तिक ३ गतेसम्म शंकरापुर ३ स्थित जहरसिंपौवा फुटबल मैदानमा प्रतियोगिता हुने क्लबका अध्यक्ष बासु वाइबाले बताए ।
खुल्ला नकआउट प्रतियोगितामा शंखरापुर नगरभित्र र बाहिरका गरी करिब २५ देखि ३० टिमको सहभागिता हुनेछ । क्लबले टिम दर्ता शुल्कवापत १५ हजार लिने र असोज २ गतेदेखि असोज १४ गतेसम्म टिम दर्ता गरेको क्लबका अध्यक्ष वाइवाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ। दोस्रो हुने टिमले १ लाख नगद प्राप्त गर्नेछन् भनें तेस्रो हुने टिमले ५० हजार नगद एवं मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी अनुशासित खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई १० हजारका दरले नगद तथा प्रमाणपत्रका साथमा मेडल प्रदान गरिनेछ।
प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख अनुमानित खर्च हुने र उक्त प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल विकास संस्था, व्यवसायी र शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको आयोजक क्लबले जनाएको छ ।