काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पूर्वगृहमन्त्री समेत रहेका पार्टी नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी संलग्न भएको आरोपमा पक्राउ परेपछि सोही विषयमा छलफल गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको हो ।

हिजो बसेको बैठकमा यस विषयमा सामान्य छलफल भएको थियो । हिजोको बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई तत्काल पार्टीबाट निलम्बन गर्न माग गरेका थिए । तर सो विषयमा तत्काल पार्टीले अनुसन्धानमा सहयोग गर्ने मात्रै समझदारी भए पनि निलम्बन गर्ने विषयमा निर्णय भएन । आजको बैठक खाणलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले हिजो विहान खाणलाई पक्राउ गरेको थियो । तीन दिन हिरासतमा राखेर खाणलाई अनुसन्धानका लागि अदालतले अनुमति दिइसकेको छ । सो प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् भने नेकपा एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् । यस प्रकरणमा अझै को–को संलग्न छन् भन्ने कुरामा नेपाल प्रहरीले सुक्ष्म ढंगबाट अनुसन्धानलाई तीव्रता दिएको छ ।