काठमाडौँ, २२ चैत्र । के तपाई सार्वजनिक बसमा यात्रा गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाई हरहम्मेसा सचेत हुनुपर्ने हुन्छ । तपाईले आफ्नो सामान कहाँ राख्नुभएको छ ? मोबाइल या बहुमूल्य सामग्री पहिरिनु भएको छ भने अझै चनाखो बन्नुपर्ने हुन्छ ।
राजधानीको बड्दो भिडसँगै सार्वजनिक बसहरुमा समेत भीड देख्न सकिन्छ । यस्तै भिडहरुलाई लक्षित गर्दै पकेटमाराहरु सल्वलाइरहेका हुन्छ । यदि तपाई हतारमा हुनुहुन्छ या त गाउँबाट भर्खरै आउनुभएको सोझासाझा हुनुहुन्छ । तपाईको निगरानी गरी यस्ता गिरोहहरुले लुटपाटको धन्दा मच्याइरहेका छन् । राजधानीका विभिन्न रुटहरुमध्ये विशेषगरी अलि लामो रुटमा चल्ले सार्वजनिक बसहरुलाई लक्षित गर्दै लुटेराहरुले यात्रीहरुको मोबाइल, पर्स, ब्याज र बहुमुल्य गरगहना समेत लुट्ने गरेको ब्यापक गुनासोको आधारमा यो समाचार तयार गरिएको हो ।
पछिल्लो समयमा यस्ता व्यक्तिहरुलाई ट्राफिक प्रहरीले समेत बढ्ता निगरानी गरेता पनि एकान्त स्थान र अलि व्यस्त समयलाई निसाना बनाइ यिनीहरुले आफ्नो गतिविधि गइरहेको हुन्छ । यसर्थ, सार्वजनिक यात्रा गर्दा जोकोही यात्रुले पनि आफ्नो विशेष ख्याल आफैँले गर्ने गर्नुपर्दछ ।
सार्वजनिक यात्रा गर्दा सकभर भिडमा नचढ्ने र सार्वजनिक बसमा कुराकानी गरी गफिएर नबस्ने । कुनै व्यक्ति शंकास्पद लागेको खण्डमा तत्काल प्रहरीलाई खबर गर्ने । अपरिचित व्यक्तिसँग कुराकानी गर्ने र टाँसिएर बस्ने काम गर्नु हुँदैन ।
सवारी तथा यातायात व्यवस्था ऐन , २०४९ मा यात्रुको सुरक्षा सम्बन्धमा विभिन्न प्रावधान भएता पनि ड्राइभर र यात्रु दुवैले समेत त्यस कुरालाई बेबास्था गरिरहेको पाइन्छ । उनीहरु अनावश्यक झमेला पर्ने र सामाजिक मानमर्यादामा खलल पुग्ने डरले समेत त्यस्ता कुराको पछि लाग्न चाहँदैनन् ।
यसतर्फ ट्राफिक प्रहरी र सवारी चालक वर्गहरुको समेत विशेष ध्यान जान गरुरी छ । यसो भएको खण्डमा प्रत्येक यात्रीले निर्धक्क भएर एक ठाउँबाट गन्तव्यसम्मको यात्रा गर्न सक्दछ ।