दिनेशचन्द्र खनाल

नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश हो । यहाँको प्राकृतिक सौन्दर्यताका कारण विश्वका विभिन्न देशहरूबाट नेपालमा पर्यटकहरू आउने गर्दछन् । यसै पर्यटकीयको प्रचूर सम्भाव्यता बोकेको स्थलको रुपमा गुफापोखरी र मेन्छयाम डाँडालाई पनि लिन सकिन्छ । प्राकृतिक विविधताले भरिपूर्ण तीनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल मानिन्छ । पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण यो क्षेत्रलाई आन्तरिक तथा वाह्य पर्यटकहरूको निम्ति उपर्युक्त गन्तव्यको रुपमा लिन सकिन्छ । स्थानीयवासीहरूको पहलस्वरुप पर्यटन प्रवद्र्धन गर्नको लागि टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रको स्थापना गरेका छन् ।
टिएमजे क्षेत्रको पदमार्ग भएर वर्षेनी हजारौँ पर्यटक ओहोरदोहोर गर्छन् । उक्त क्षेत्रका प्राकृतिक सुन्दरता र धार्मिक महत्वका पोखरीको अवलोकन, वसन्त ऋतुमा राताम्मे गुराँसे वन, डाँडाकाँडा र पाखाको दृश्यावलोकनका लागि पर्यटक आउँछन् ।
टिएमजे क्षेत्रको मुख्य आकर्षणको रुपमा गुफापोखरीलाई लिने गरिन्छ । यसै पोखरी तथा वरपरको हिमश्रृंखलाको दृश्य अवलोकन गर्न भनेर पर्यटकहरू आउने गर्दछन् । यस पोखरीको छेउमा सानो बस्ती छ । गुफापोखरी नजिकै भएकाले बजारको नाम पनि गुफाबजार राखिएको छ । पर्यटकीयस्थल भएकाले सो बजारमा होटल व्यवसाय सञ्चालन गरी करीब ३२ घरधुरी बस्दै आएका छन् । तीन हजार मिटर उचाइमा रहेको सो क्षेत्रमा पहिले प्रशस्त हिउँ पर्ने भएकाले पोखरीमा बाह्रै महिना टिलपिल पानी हुन्थ्यो । अहिले हिउँ पर्न छाडेकाले पानी सुक्दै गएकोमा स्थानीयवासी चैनपुर नगरपालिका–१ का सन्तोष लिम्बूले बताउँछन् । लिम्बूका अनुसार विगत पाँच वर्षयता हिउँ कम पर्न भएको र पोखरीभित्रको बालुवा निकाल्ने र चारैतिर घुम्ने तथा हेर्ने ठाउँ बनाउने योजना भइरहेको छ ।
प्राकृतिक पोखरी, आकर्षक डाँडाकाँडाका कारण टिएमजे पर्यटकीयस्थल बनेको हो । कञ्चनजंघा हिमालको आधार शिविर र तमोर नदीमा जलयात्रा गर्ने पर्यटकसमेत यही क्षेत्र भएर यात्रा गर्छन् । ती पर्यटकलाई एक दुई दिन गुफापोखरीमै घुम्न पुग्ने गरी पूर्वाधारको निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन सकिने लिम्बू बताउँछन् । अहिले यहाँको पदमार्ग भएर तमोरमा जलयात्रा गर्न आउनेको संख्या बढेको छ । यस्तै, गुफापोखरी हुँदै करीब २ दिनको पैदल यात्रा पछि सभापोखरीमा पुग्न सकिन्छ । त्यस ठाउँमा जनैपूर्णिमामा व्यापक मेला लाग्ने गर्दछ ।

सङ्क्षिप्तमा गुफापोखरी
गुफापोखरी नेपालको संखुवासभा जिल्लाको तत्कालीन नुनढाकी गाविस (हाल चैनपुर नगरपालिका वडा नं. १) मा अवस्थित पर्यटकीय महत्वको स्थान हो । लालीगुराँसको राजधानी भनेर चिनिने धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रको भौगोलिक निर्देशाङ्क २७.२८५०९८४ड्ढ उत्तर ८७.५०५७३८७ड्ढ पूवीनिर्देशांक २७.२८५०९८४ड्ढ उत्तर ८७.५०५७३८७ड्ढ पूर्व पर्दछ । समुन्द्रीसतहबाट २९०० मिटरको उचाइमा अवस्थित गुफापोखरी क्षेत्रमा २८ प्रजातिको लालीगुराँसहरू पाइन्छन् । त्यस्तै यस क्षेत्रमा चण्डी, धान, च्याब्रुङ, तामाङ सेलो, विझुवा झाँक्री र वालन नाच र पञ्चेबाजाका पनि प्रसिद्ध कमाएको छ । यसको अतिरिक्त शेर्पा जातिहरूको मौलिक परम्परागत नाचले समेत प्रसिद्धी कमाएको छ ।

गुफापोखरी कसरी पुग्ने ?
गुफापोखरी जान चाहानेहरूले हवाईमार्ग वा सडक मार्ग दुईमध्ये एकलाई रोज्न सक्नुहुनेछ । सडकमार्गबाट जाने हो भने राजधानीबाट ५३९ किलोमिटर पूर्वमा धरान पुग्न सकिन्छ । विराटनगरसम्म हवाईजहाजमा पनि पुग्न सकिन्छ वा काठमाडौँबाट धरानका लागि बस पनि पाइन्छ । एकदिन धरान बसेर भोलिपल्ट यस वरपरका बराहक्षेत्र, रामधुनी, पिण्डेश्वर, दन्तकाली, शिवजट्टा, पञ्चकन्या, किराँतकालीन दरबार, ऐतिहासिक विजयपुर, विष्णुपादुका एकदिनमै घुम्न सकिन्छ ।
धरानबाट ४० किलोमिटर यात्रा तय गरेपछि कोशीटप्पु पुग्न सकिन्छ । एकदिन कोशीटप्पु घुम्न गए पनि भयो अथवा सिधैँ भेडेटार, हिले हुँदै पाँचघण्टा बसको यात्रापश्चात् वसन्तपुर पुगिन्छ । वसन्तपुर कञ्चनजङ्घा आधार शिविरको मुख्य प्रवेशद्वारका रुपमा परिचित छ । वसन्तपुरमा प्रशस्तै होटल छन् । होटलमा बस्न नचाहनेले पाल टाँगेर बस्न पनि सक्छन् । र, यहाँबाट थप ६ घण्टाको यात्रा तय गरेपछि गुफापोखरी पुग्न सकिन्छ । यो बाटोमा तोङ्बा, सुकुटी, छुर्पी मात्र होइन, गुराँसको जुससमेत पाइन्छ ।
बसन्तपुरबाट डेढ घण्टाको पैदल यात्रा हिँडेपछि पाथीभरा मन्दिरको दर्शक गरी तिनजुरे डाँडामा रहेका लालीगुँरासहरूको अवलोकन गर्दै अगाडि बढ्न सकिन्छ । त्यहाँबाट डेढ घण्टाको यात्रा तय गरेपछि चौकीमा तेस्रो दिनको बास बस्न सकिन्छ । चौकीबाट श्रीमाने, लामपोखरी हुँदै चौथो दिनको बास गुफापोखरीमा गएर बस्न सकिन्छ । बजारसँगैको पोखरी र अलिपर मेन्छ्याम डाँडाको फेदीमा रहेको गुफालाई जोडेर यो ठाउँको नाम गुफापोखरी रहन गएको हो । लिम्बू भाषामा मेन्छ्याम(तरुनी) शिवपार्वतीले किराँत स्वरुपधारणा गरी सो डाँडाको विहार गरेको हो भन्ने जनविश्वास छ ।) मेन्छ्याम डाँडाबाट सूर्योदय, कञ्चनजंघा, कुम्भकर्ण, मकालु, जलजला हिमाल र सर्वोच्च शिखर सगरमाथाको टुपी, अरुण उपत्यकादेखि लिएर विभिन्न १० वटा जिल्लाहरूका अतिरिक्त दार्जलिङ्को समेत अवलोकन गर्न सकिन्छ । पोखरीमा आफ्नै छायाँ हेरेर रमाउन, अँगालोभरी गुराँस बोकेर तस्बिर खिच्न, खुल्ला चौरमा लमतन्न सुतेर आकाशतिर हेर्दै थकाइ मार्न यो सबैभन्दा राम्रो मौका हुनसक्छ । त्यहाँ पर्यटकहरूलाई लक्षित गरी होटल र लजहरू सञ्चालित रहेका छन् । होटलमा रु.३०० मा कोठा र रु.२५० देखि ३०० मा खाना पाइन्छ ।
तीनजुरे, मिल्के, जलजले क्षेत्र नेपालका पाँच प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्येको एक मानिन्छ । १७ सयदेखि ५ हजार मिटरसम्मको उचाइमा रहेको यो क्षेत्र ५५८ वर्ग किलोमिटरमा फैलिएको छ । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ भन्दा बढी यहाँ पाइन्छ । २५० वनस्पति पाइने क्षेत्र र विश्वकै २०० महत्वपूर्ण इकोलोजिकल जोन (परिस्थितिकीय क्षेत्र)को रूपमा समेत यो क्षेत्र रहेको छ । बराह क्षेत्रबाट चीनको तिब्बतसम्म फैलिएको नेपालकै सबभन्दा लामो पहाड शृङ्खला रहेको यो क्षेत्र जैविक विविधता, प्राकृतिक श्रोत तथा सामाजिक–सांस्कृतिक विविधताको खानीको रूपमा रहेको छ ।

गुफापोखरीमा बिहान याक र चौरीका घण्टीको आवाजले पर्यटकहरूलाई ब्यूँझाउँछ भने चौरीको दूध, घिउ र छुर्पी खाँदै पर्यटकहरू रम्ने गर्दछन् । त्यहाँ पुगेका पर्यटकहरू विहान पाँचबजेदेखि नै उठेर आधा घण्टा टाढाको मेन्छ्याम डाँडा चढेर पूर्वको सूर्योदय हेरेपछि उत्तरतिरका हिमाल टल्किँदै सामुन्नेमा रहेको अनुभूति गर्दै पाँचपोखरीहुँदै मिल्के डाँडामा रहेका लालीगुराँसको अवलोकन गरी पुनः गुफापाखरी बजार फर्केर अविष्मरण क्षणहरू क्यामरा र मनमतिष्कमा कैद गर्दै आफ्नो गन्तव्यतर्फ लाग्दछन् ।
(लेखक टिएमजे पर्यटन प्रबद्र्धन केन्द्रसँग आवद्ध हुनुहुन्छ । )