दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १७ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिल विजक भन्दा बढी विभिन्न खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको ट्रकलाई सोमबार आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज बाट काठमाण्डौं तर्फ गईरहेको ना. २ ख ८५१९ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. २४, बहुअरी सडक खण्ड बाट ना. २ ख ८५१९ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी रू. ४१ लाख ८६ हजार ५ सय ७८  बराबरको ट्रक र सो भित्र लोड रहेको सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी प्रवक्ता डीएसपी निर्मल बुढाथोकी ले बताएका छन् ।

त्यसै विशेष सूचनाको आधारमा नै अनाधिकृत रूपमा भन्सार छलेर भारतीय गाडी चलाइरहेको भन्ने प्राप्त सूचना अनुसार सोमबार त्यहाँ बाट खटी गएको टोलीले खोजतलास गर्दै जाने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६, चालिसफिट्टे सडकखण्डमा UP 16 AX 1003 नम्बरको भारतीय Suzuki Maruti कार सडकको छेउमा बेवारिसे अवस्थामा फेला पारी हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त गाडीलाई बरामद गरी रू. ५ लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा पनि प्रवक्ता डीएसपी निर्मल बुढाथोकी ले बताएका छन् ।