दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १३ पुष । जिल्ला प्रहरी कार्यालय, पर्सा ले एउटा १४ वर्षिय बालकलाई अपहरण गरी हत्या गर्ने दुई जना आरोपितलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बीरगंज महानगरपालिका वडा नं. २५, सिर्सिया खलवाटोला बस्ने श्रीराम हजरा दुसाद को छोरा वर्ष १४ को निरज कुमार पासवान लाई मंसिर ०५ गते वडा नं. १७, अलौं बस्ने बर्ष २४ को कृष्णा भन्ने श्याम प्रसाद यादव र पर्सा जिल्ला धोबिनी गाउँपालिका वडा नं. ०१, घोडदौरा पिप्रा बस्ने बर्ष ३० को दिलिप कुमार पटेल ले फिरौती रकम को लागि अपहरण गरे तापनि उनको निर्ममतापूर्वक हत्या गरेका छन् ।

पर्सा प्रहरी का प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार श्री गुरूकुल पन्ना मेमोरियल ईंगलिश बोर्डिङ स्कुल, अलौं मा कक्षा ८ मा अध्यनरत १४ वर्षिय बालक लाई उसको निवास स्थान बाटै उल्लेखित मितिमा दिउँसो ०२:०० बजेको समयमा अपहरण गरिएको थियो । मंसिर ०६ गते मृतकको बुवा खोजतलासको लागि प्रहरीमा उजुरी दर्ता गराएका थिए । तत्पश्चात तालुका कार्यालय तथा मातहत प्रहरी कार्यालयहरूमा खोज तलासको लागि हुलिया परिपत्र गरिएको थियो ।

घटनाको १२ दिन पछि अपहरित बालकको वुवा श्रीराम हजारा दुसादलाई टेलीफोन बाट रु. ५० लाखको फिरौती रकम मांग गरेको जानकारी प्राप्त भए पनि प्रहरीलाई मंसिर २५ गते मात्र जानकारी गराएका थिए ।

अनुसन्धान गर्दै जाँदा निरज कुमार पासवानलाई कर्तव्य गरी सिर्सिया खलवाटोला स्थित रहेको श्री गुरूकुल पन्ना मेमोरियल ई. बोर्डिङ स्कुलको पुरानो भवन अगाडी रहेको शौचालयको सेफ्टी टंकीमा लास रहेको सूचना प्राप्त भए पछि उल्लेखित स्थानमा पुष १० गते बेलुका ०५:०० बजे उत्खनन गर्दा मृतकको लास फेला परेको थियो ।

अभियुक्तहरूले अपहरित बालक निरज कुमार पासवानलाई हात खुट्टा तथा मुखमा पटी बाँधी राखेकोमा निज बालकले बाँधिएको डोरी फुकाइ भाग्न खोजीएकोमा अपहरणकारीहरूको पहिचान खुल्न सक्ने डरले हत्या गरेका हुन् ।

घटनामा संलग्न हाल सम्मको अनुसन्धानबाट ३ जना रहेको मा अहिलेसम्म २ जना पुरुष लाई बीरगंज महानगरपालिका वडा नं. १७, अलौं बाट पक्राउ गरिएको हो । साथै फिरौती रकम मांग गर्न प्रयोग भएको सिमकार्ड सहितको मोबाईल थान-१ , मृतकको निलो रंगको जिन्स पाईन्ट, खैरो रंगको पेटी फेला परेको छ ।

पक्राउ अभियुक्तलाई पर्सा जिल्ला अदालत बाट अपहरण वा शरिर बन्धक बनाई कर्तव्य ज्यान सम्बन्धि कसूर मा म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको कुरा पनि प्रवक्ता गिरीले बताएका छन् ।