दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ३० कार्तिक । पर्साको क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन् ।

पाँच दलीय बाम गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार कुर्मीले निज निवास बीरगंज महानगरपालिका वडा नं. २५ श्रीसियामा पत्रकार सम्मेलनको आयोजना गरि घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

क्षेत्र नम्बर २ (ख) को विकास र समृद्धिका लागि आधुनिक एवम् प्राविधिक शिक्षामा जोड दिँदै कुर्मीले स्वास्थ्य सुदृढीकरणको विषयलाई घोषणा पत्रमा प्राथमिकताका साथ उठाएका छन् । विपन्न एवम् जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थाका साथै आफ्नो क्षेत्रका प्रत्येक वडामा निःशूल्क कोचिङ् कक्षाको व्यवस्था गर्ने योजना घोषणा पत्रमा उल्लेख छ ।

निःशूल्क रुपमा एम्बुलेन्स सेवा सञ्चालनका लागि अति विपन्न परिवारका लागि निःशूल्क स्वास्थ्य बिमाको योजना ल्याउने कुर्मीको योजना छ । राष्ट्रका मेरुदण्ड मानिने युवाहरुको सही परिचालन गर्न सकेमा मात्रै समृद्धिको लक्ष्य हासिल गर्न सकिने हुँदा अदक्षलाई दक्ष बनाउने र दक्षलाई योग्यता र क्षमताअनुसारको रोजगारी सिर्जना गर्ने कुर्मीको घोषणा पत्रमा उल्लेख छ ।

स्वरोजगार बनाउनका लागि अक्षय कोषको स्थापना गर्ने र अनुदानमा ऋण उपलब्ध गराउने उनको योजना छ । साथै सिपमुलक तालिम सञ्चालन गरेर युवाहरुलाई आत्मनिर्भ बनाइने पनि उनले घोषणा पत्रमा समावेश गरेका छन् । कृषिलाई पनि उनले प्राथमिकता दिएका छन् ।

परम्परागत खेती प्रणालीलाई परिमार्जन गरेर आधुनिकीकरण एवम् प्रविधिकरण गरेर कम मेहनतमा धेरै उत्पादन गर्ने खालका योजना र कार्यक्रम ल्याउने कुर्मीको भनाई छ । कृषकको लागि सोलार प्यानल वितरण गरेर सिचाईमा सहजीकरण गर्नुका साथै समयमै बिउ र मलको सहज उपलब्धताका लागि पहल गर्ने पनि कुर्मीको प्रतिबद्धता छ ।

आफ्नो क्षेत्रमा राष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्ने र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीलाई प्रोत्साहन गर्ने पनि कुर्मीको घोषणा पत्रमा समेटिएको छ । बहुदरमाई मन्दिरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने विषयलाई उनले प्राथमिकताका साथ उठाएका छन् । पक्की सडकसञ्जालको विस्तार र स्तरोन्नतीका लागि पहल गर्ने पनि उनको योजना छ ।

वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकालाई जोड्न सुगौलीमा पुलको अपरिहार्यतालाई मध्यनजर गर्दै उनले पुल निर्माणका लागि योजना र बजेटका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । सरकारी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै अनियमितता र ढिलासुस्तीको विरुद्ध खबरदारी गर्ने पनि उनले बताएका छन् ।