क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण छ हजार छ सय बासिन्दालाई विस्थापित गरिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । वुड बफेलोको क्षेत्रीय नगरपालिकाले स्थानीय आपत्कालीन अवस्था घोषणा गरेपछि मङ्गलबार दिउँसो खाली गर्ने आदेश जारी गरेको सिबिसी न्युजले बताएको छ । बेकन हिल, अबासन्ड, प्रेरी क्रिक र ग्रेलिङ टेरेसका छिमेकीका लागि खाली गर्ने आदेश प्रभावकारी छ । फोर्ट म्याकमुरेका धेरै छिमेकीलाई अग्नि नियन्त्रकहरूका लागि लागि बाटो बनाउन खाली गरिँदै गरेको बताइएको छ । उक्त विस्थापित क्षेत्रका सबै बासिन्दालाई अपराह्न ४ बजेसम्म छाड्न आदेश दिइएको थियो । सिबिसी न्युजका अनुसार क्षेत्रीय अग्नि नियन्त्रण प्रमुख जोडी बुट्जले भन्नुभयो, “यो आदेशले खाली गर्ने क्षेत्रमा छ हजार पाँच सय मानिसलाई प्रभावित गर्नेछ ।” क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार मङ्गलबार देशभरि एक सय ३४ वटा आगलागी सक्रिय रूपमा बलिरहेको थिए । तीमध्ये ४३ वटा आगलागी नियन्त्रणबाहिर छन् । क्यानाडा सरकारले देशभर सामान्यभन्दा माथिको तापक्रमले जङ्गलमा आगलागीको ठूलो जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ । सन् २०२३ मा क्यानाडाको डढेलोको सिजन रेकर्डमा सबैभन्दा विनाशकारी हो । क्यानाडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार सन् २०२३ मा देशभर सात हजार एक सय ३१ आगलागी रेकर्ड गरिएको थियो । ती आगलागीबाट एक करोड ७२ लाख तीन हजार छ सय २५ हेक्टर जमिन जलेको थियो ।