बेनी बजार चिनाउने माध्ययम ‘संगीत संस्कृति र प्रकृति’

बेनी । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत संगीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत संगीतको माध्ययमले देश तथा विदेशमा चिनिएको छ ।

म्याग्दीका कलाकार दम्पती मन छन्त्याल र टीकाबहादुर श्रेष्ठले सिर्जना गरेका ‘बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीतले बेनी बजारलाई देश विदेशमा चिनाएको छ । बेनी बजारको चिनारीसँग जोडिएको छ ‘माघे सङ्क्रान्ति मेला’ । बेनीमा परम्परागत रूपमा लाग्दै आएको माघे सङ्क्रान्ति मेलाले बेनीको महिमालाई उजागर गर्छ ।

बेनीमा लाग्ने माघे सङ्क्रान्ति मेलाले बेनी बजारको व्यापार व्यवसाय, कला संस्कृति र पर्यटन विकासमा महत्त्वपूर्ण योगदान दिएको बेनीका पुराना व्यवसायसमेत रहेका ८३ वर्षीय पुण्यबहादुर शाक्यले बताए । उनका अनुसार, म्याग्दीका साथै पर्वत र बागलुङबाटसमेत बेनीस्थित कालीगण्डकीमा माघी नुहाउन आउने र मेला भर्ने चलन थियो । तत्कालीन समयमा हुने माघी मेला बेनी क्षेत्रमा मनोरञ्जन, व्यापार व्यवसाय र आपसी भेटघाटको माध्ययम थियो ।

“पहिले दुई दिन माघे सङ्क्रान्ति मेला जात्रा हुन्थ्यो, टाढा टाढाबाट आएकाले नाचगान गर्ने, गाउँका सामान ल्याएर बिक्री गर्ने र घरमा आवश्यक पर्ने सामान किनेर लैजाने गर्थे, सञ्चारको कुनै माध्ययम नहुँदासमेत माघे सङ्क्रान्तिमा बेनीमा मानिसको भिड थामिन सक्नु हुन्थ्यो,” शाक्यले भने । खास गरी बेनीमा डाला नाङ्ला, ठेका, फलामका भाँडाकुँडा र घरेलु हतियार, लत्ताकपडा र खाद्यान्न सामग्री खरिद बिक्री गर्न माघे सङ्क्रान्ति मेलालाई उपयोग गर्ने चलन रहेको थियो ।

जिल्लाभरबाट मेला भर्न आएकाहरूले मेलामा छेलो फाल्ने प्रतिस्पर्धा गर्थे भने विजेतालाई साफा गुथाएर सम्मान गर्ने प्रचलन रहेको थियो । बेनी बजारको परम्परागत संस्कृतिको रूपमा रहेको माघे सङ्क्रान्ति मेलाले परिवर्तित समय अनुसार परिमार्जन र नयाँ–नयाँ प्रयोगसहित निरन्तरता पाइरहेको छ । माघे सङ्क्रान्ति मेलाजात्रालाई २०५७ सालदेखि आधिकारिक आयोजक बनेर सञ्चालन गर्न थालिएको थियो ।

सुरुवातका दुई वर्ष निर्माण व्यवसायी संघले माघे सङ्क्रान्ति मेला आयोजना गरेकोमा २०५९ सालमा म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्वमा मेलालाई निरन्तरता दिइएको थियो । त्यसयता हरेक तीन/तीन वर्षमा एक पटक म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव तथा अन्य वर्षमा महिला उद्यम विकास समितिका आयोजनामा मेला तथा सडक खाना महोत्सव सञ्चालन हुँदै आएको छ ।

विसं २०६० मा तत्कालीन धौलागिरि अञ्चलमै पहिलो पटक बेनीमा माघे सङ्क्रान्ति मेला तथा प्रथम म्याग्दी महोत्सव आयोजना भएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष प्रमोद श्रेष्ठको नेतृत्वमा माघे सङ्क्रान्ति मेलालाई महोत्सवको रूपमा आयोजना गरिएको छ । “मौलिक पर्वको रूपमा माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न पहिलो पटक महोत्सव लगाएका थियौँ, आज आइपुग्दा आठौँ संस्करणको महोत्सव आयोजना भइरहेको छ, जिल्लाको पर्यटन प्रवर्द्धन, सम्भावनाको उजागर, व्यापार व्यवसायको विस्तारसँगै कला संस्कृति संरक्षणमा महोत्सवको सकारात्मक प्रभाव रहेको देखिन्छ,” श्रेष्ठले भने ।

यस वर्ष म्याग्दी उद्योग वाणिज्य संघले आइतबारदेखि आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला सञ्चालन गरेको छ । मेलालाई मनोरञ्जन र व्यापार व्यवसायको माध्ययम सँगसँगै जिल्लाको पर्यटन प्रवर्द्धन र आर्थिक विकासको सम्भावना उजागर गर्ने गरी सञ्चालन गर्न लागिएको मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । “महोत्सव विगतको मेलाको निरन्तरता हो, तर हामीले नयाँपन दिने जमर्को गरेका छौँ, जिल्लामा रहेका कला संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटन विकासलाई सघाउने गरी महोत्सवका कार्यक्रम तय गरेका छौँ,”– अध्यक्ष श्रेष्ठले भने ।

महोत्सवमा जिल्लामा रहेका उत्पादन र लघु उद्यमीहरूले तयार गरेका वस्तु तथा सामग्रीको बिक्री वितरण र पदर्शनीका लागि निःशुल्क स्टलको प्रबन्ध गरिएको छ । महोत्सवलाई जिल्लाको सम्भावना उजागरसँगै जलविद्युत्, खानी, पर्यटन लगायतको क्षेत्रमा लगानी भित्र्याउन बहस, छलफल र उचित वातावरण बनाउने माध्ययम बनाउने जमर्को गरिएको संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए । म्याग्दी महोत्सवले जिल्लामा रहेका जातजातिका कला, संस्कृति संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । म्याग्दीको चिम खोलाबाट सुरु भएको थालीनाचलाई व्यापक बनाउन बेनीमा हुने मेला जात्राले सहयोग पुग्ने गरेको छ ।

मौलिक वेशभूषा, संस्कृतिको संरक्षणमा जागरण ल्याउन बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजना हुने मेला महोत्सवले महत्त्वपूर्ण योगदान दिने गरेको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुनले बताए । “बेनीमा माघे सङ्क्रान्तिको अवसरमा हुने मेला जात्रा र महोत्सव मनोरञ्जन सँगसँगै संस्कृति संरक्षणको समेत माध्ययम बन्दै आएको छ, महोत्सवमा सबै समुदायको मौलिक कला संस्कृतिलाई प्राथमिकता दिने गरिएको छ, यसले संस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न समेत सघाएको छ,” अध्यक्ष पुनले भने । यस पटकको महोत्सवमा कलाकारहरूको सांगेतिक प्रस्तुतिसँगै खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, छेलो फाल्ने, खुला पुर्ख्यौली नाच , लोकनृत्य, भजन र रत्यौलीलगायत मौलिक कला र संस्कृतिसँग सम्बन्धित प्रतियोगितालाई समावेश गरिएको छ ।

  • Related Posts

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ ।  दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक,…

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गर्ने…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 175 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 49 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 43 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 40 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 40 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 41 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु