दीपेन्द्र प्रजापति कालो/झोला ।

पर्सा, ११ पुष । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०१:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १७ तिलावे पुल स्थित सडक खण्ड बाट अवैध खाद्यान्न सहित दुई वटा ट्रेक्टर आफ्नो नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका ट्रेक्टर ना. ७ त ५२५१ र ना. ६ त ४२०४ नम्बरको ट्याक्टरमा भन्सार छली चोरी पैठारी गरी वीरगञ्ज तर्फ ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको बिशेष टोलीले उल्लेखित नम्बरको ट्याक्टरहरूलाई रोक्ने क्रममा दुबै ट्याक्टरको चालकहरू फरार भएको हुँदा उक्त ट्याक्टरहरूलाई लोड रहेको मालबस्तुहरू सहित नियन्त्रणमा लिइ ना. ७ त ५२५१ नम्बरको ट्याक्टरमा चामल ८० बोरा प्रति बोरामा ६० के.जी. को दरले ४ हजार ८ सय के.जी., धान ७१ बोरा प्रति बोरा ५५ के.जी. को दरले ३ हजार ९ सय ०५ के.जी. र गहुँ १५० बोरा प्रति बोरा ६० के.जी. का दरले ९ हजार के.जी. उल्लेखित नम्बरहरूको ट्याक्टरहरू, जडान गरेको टेलर सहित रु. १५ लाख २६ हजार ४ सय ८० बराबरको चामल, धान र गहुँ थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।

साथै वीरगञ्ज महानगरपालिका वडा नं. ०८ लिंक रोड सडक खण्डमा आईतबार भारतको रक्सौल बाट खरिद गरी भन्सार छली चोरी पैठारी गरी ल्याइएको Vivo कम्पनीको मोबाइल थान-४८ अन्दाजी मूल्य रू. ३ लाख ८२ हजार बराबरको मोबाईल तथा वडा नं. ०७ बस्ने वर्ष ३० को रोशन जाटिया समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा समेत प्रवक्ता गिरीले बताएका हुन् ।